रेडियो मेन्छ्यायेमले आठौँ वार्षिक उत्सव मनायो

Posted on: 25 Jan, 2016
प्रकाश धौलाकोटी ।  तेह्रथुम, ११ माघ । तेह्रथुम जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमले आज आफ्नो आठौँ वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिक उत्सवका अवसरमा जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुसँग रेडियोले जिल्लाको विकास निर्माण, सुसासन तथा अन्य विविध क्षेत्रमा पुर्याएको योगदानबारे छलफल गरेको छ । सहभागीले रेडियाले भावी दिनमा अझै उत्पादनमुखी र उत्प्रेरणा जगाउने किसिमका कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् । यस्तै वार्षिक उत्सवकै अवसरमा आयोेजित लिम्बु तथा नेपाली भाषामा खुल्ला रेडियो कविता वाचन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । नेपाली भाषाको कवितातर्फ प्रथम डिल्लीराम परदेशी, द्धितीय प्रकाश धौलाकोटी, तृतीय उत्तम लावती र आरती लिम्बु सान्त्वाना भएका छन् । यस्तै लिम्बु भाषा तर्फ प्रथम योगिता लिम्बु, द्धितीय दिलेन माबो, तृतीय मनिसा तुम्खेवा तथा टठबहादुर पन्धाक र आइन्द्रहाङ आंदेम्बे सान्त्वाना भएका छन् । प्रतियोगिता उत्कृष्ट सबैलाई नगद तथा प्रमाण पत्रले पुरस्कृत गरिएको स्टेशन मेनेजर प्रेमचन्द्र लिम्बुले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!