काभ्रेमा गुठी जग्गा खारेज गर्न माग

Posted on: 18 Sep, 2017

असोज २, काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् । 

वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनः निर्माणका लागि गुठी जग्गामा घर बनाउन रु पाँच हजारदेखि रु १० हजारसम्म राजश्व तिनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए । 

“गुठीको जग्गाको प्रतिरोपनी रु २०० तिर्न सक्ने अवस्थामा हामी छैनौँ, यो खारेज गर्नुपर्छ,” पाँचखाल नगरपालिका–११ का पुष्पबहादुर श्रेष्ठले भन्नुभयो । गुठीको जग्गामा जबर्जस्ती सम्झौता गर्न लगाएर पुनः निर्माणका लागि पहिलो र दोस्रो किस्ताको रकम लिएपनि तेस्रो किस्ताबापतको रकम नआउने स्थिति रहेको उहाँले बताउनुभयो । तत्कालीन राणाको श्रीमती दमन्तादेवीको नाममा भएको गुठीको जग्गामा आफूले जोतभोग गरेको श्रेष्ठले बताउनुभयो । 

पाँचखाल नगरपालिका–११ का रमेश खरेलले गुठीको जग्गा अधिकांश पाखो डाँडा रहेको उल्लेख गर्दै रैकर जग्गाको जति तिरो हुन्छ त्यति नै तिरो गुठी जग्गाको पनि हुनुपर्ने माग गर्नुभयो । “एक रोपनी जग्गाको ३० पाथी धान तिरोस्वरुप तिर्नुपर्छ तर धेरैजसो खोलाले बगाइदिन्छ अनि कसरी तिरो तिर्न सकिन्छ,” उहाँले भन्नुभयो । 

सो क्षेत्रमा व्यक्तिगत गुठी, मन्दिर गुठी र निजी गुठीका गरी ३०० घर परिवारको बसोबास रहेको छ । तर उनीहरुलाई आफू कस्तो जग्गा र कसको जग्गामा बसेको भन्ने विषयमा जानकारी छैन । “एक वर्ष एउटालाई तिरो तिर्छौं, अर्को वर्ष अर्कोलाई तिर्छौं,” पाँचखाल नगरपालिका–११ का नवराज सेंढाइले भन्नुभयो । 

पाँचखाल नगरपालिका–११ का वडाध्यक्ष शिवशरण लामाले सरकारले गुठी जग्गाको तिरोको विषयमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिँदै गुठी जग्गालाई पनि रैताने गर्न समस्या हुने बताउनुभयो । 

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठी जग्गाको तिरो तिरेको रसिद माग गर्न आग्रह गर्दै स्थानीय निकायले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पाँचखालमा गुठी समस्याबाहेक सुकुम्बासी र खाँद जग्गाको समेत समस्या रहेको बताइएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!