बुटवलको बजेट कार्यान्वयनमा जोड

Posted on: 19 Sep, 2017

असोज ३, बुटवल।तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । 

नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि नबढाएमा विनियोजन बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । 

तिलोत्तमा नगरपालिकाको गत साउन ३१ गते भएको प्रथम नगरसभा बैठकले नगरभित्र विभिन्न महत्वपूर्ण विकास योजनासहित करिब रु एक अर्ब ६३ लाखको बजेट निर्माण गरेको थियो । बैठकले नगरपालिकाभित्र बसपार्क निर्माण गर्ने, विभिन्न क्षेत्रका सडक निर्माण, शंकरनगर वनवाटिकामा भ्यू टावर निर्माणलगायतका योजना अगाडि सारेको छ । 

“किसान लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ,” नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भन्नुभयो । नगरपालिकाले विभिन्न विषयगत समितिलाई पूर्णता समेत दिएको छ । यसअघि संयोजक तोकिएका विषयगत समितिलाई नगर कार्यपालिकाको बैठकले पूर्णता दिएको हो । 

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो । कार्यपालिकाको बैठकले नगरपालिकाको कानूनी सल्लाहकारमा खुमाकान्त पौडेल तथा प्रेस सल्लाहकारमा बिपी गौतमलाई चयन गरेको छ । बैठकले नगरपालिकाको वडा नं ३ तथा ४, ८ र ११ का वडा कार्यालय यसअघि सञ्चालन भएका ठाउँबाट अलग गरी छुट्टै सञ्चालन गर्ने निर्णय गरेको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!