पत्रकारितामा महिलाको आकर्षण बढ्दो

Posted on: 22 Sep, 2017

असोज ६, तेह्रथुम। तेह्रथुममा सञ्चार गृहहरु थपिनेक्रम सँगै पत्रकारितामा महिलाहरुको आकर्षण समेत बढेको छ । 

जिल्लाको पहिलो रेडियो मेन्छ्यायेमले शुक्रबार सम्पन्न गरेको रेडियो पत्रकारिता तालिममा सहभागी ३० जना मध्ये २७ जना युवतीहरु रहेका थिए । 

बेरोजगारीका कारण व्यक्तित्व विकास हुने आशा र पत्रकारिता प्रतिको मोहले तानेको सहभागी युवतीहरुले बताएका छन् । हाल जिल्लामा तीन वटा रेडियो र केही साप्ताहिक पत्रपत्रिकाहरु रहेका छन् । रेडियोहरुमा काम गरिरहेकामध्ये सबैभन्दा धेरै महिलाहरु नै रहेका छन् ।

युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा महिलाहरु मात्रै रहने भएकाले पनि यो क्षेत्रमा समेत महिलाहरुकै संख्या बढी देखिएको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताउनुभयो । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा लगत्तै अरु दुई वटा रेडियोहरु समेत थपिने तयारीमा छन् । स्थानीय तहले पनि एक सय वाट क्षमता सम्मको रेडियो सन्चालन गर्न पाउने भएपछि गाउँ गाउँमा समेत रेडियो स्टेशन खुल्न लागेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!