उदयपुरमा हात्तीको चोरीशिकार

Posted on: 24 Sep, 2017

असोज ८, उदयपुर। जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो । 

जिल्ला वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवकाअनुसार मृत वयस्क भाले हात्ती कोशी टप्पु क्षेत्रको जंगलको भएको र पेशेवार शिकारीका गिरोहले हात्तीलाई खाने कुरामा विष हालेर दिएपछि बेहोस हुँदै सिसौलीको जंगलमा आएर मरेको अवस्थामा फेला पारिएको थियो । 

मृत्यु भएको हात्तीको दाँत र पुच्छरसमेत आधुनिक मेसिन प्रयोग गरेर काटेर लगेका कारण हात्तीलाई पेशेवार सिकारीको गिरोहले मारेको जिल्ला वन कार्यालयसहित क्षेत्रीय वन कार्यालयका पदाधिकारीले अनुसन्धानमा फेला पारेको सूचना अधिकृत यादवले बताउनुभयो । 

हात्ती विष सेवनका कारण छटपट्टिदै कोशी टप्पु क्षेत्रबाट तीन किलोमिटरभित्र सिसौलीको जंगलमा आएर ढलेको अनुमान सो टोलीको थियो । 

करिब २५ वर्ष जति पुगेको उक्त भाले हात्तीको दुबै दाँत मेसिन प्रयोग गरेर काटिएको अवस्थामा फेला पारिएको थियो । दुबै दाँतको मूल्य दश लाखसम्म पर्ने पनि सूचना अधिकृत यादवले बताउनुभयो । सिसौली वन क्षेत्रको छेउमा सशस्त्र प्रहरीको बेसक्याम्प छ भने दक्षिण पूर्वतर्फ स्थानीयवासीको बसोवास रहेको क्षेत्रमा पनि यस्ता घटनाले चोरीशिकारी गाउँ÷गाउँमा नै प्रवेश गर्न थालेको स्थानीय बुद्धराज भुजेल र भविन्द्र राईले बताउनुभयो ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!