गुल्मीमा पहिलो पटक कटुवाललाई तलव तोकियो

Posted on: 24 Sep, 2017

प्रेम सुनार/असोज ८, गुल्मी । गुल्मी  पहिलो पटक धुर्कोट गाउंपालिकाले सदियौं देखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गर्दै आएका कटुवालहरुलाई तलव तोकेको छ ।

कटुवालहरुले सम्मान जनक परिश्रमिक राज्यबाट पाउनु पर्नेमा उपेक्षित हुंदै मगन्तेले जस्तै गरी घर घरमा पुगेर मकैका झोंता उठाएर जिविका चलाउंदै आएका कटुवालहरुलाई धुर्कोट गाउंपालिकाले जनही ३६ सयका दरले तलव तोक्ने निर्णय गरेर उनिहरुको सम्मान गरेको हो  ।

सदियौं देखि उकाली ओराली गर्दै गाउंवासीको सेवा गर्दै आएका कटुवालहरुलाई  राज्यले उपेक्षा गरेकोले अव उनिहरुको तलवी कर्मचारीको सुरुवात गरेर देशैभर नै यसरी नै सम्वोधन गरियोस भन्ने सन्देश प्रवाह गर्न यस्तो निर्णय गरिएको धुर्कोट गाउंपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

 यो वर्ष  धेरै रकम  भए पनि तलव व्यवस्थाको सुरुवात मात्रै गरिएको र क्रमशः बृद्धि गरिदै जाने प्रमुख पोखरेलको भनाई छ । उनका अनुसार धुर्कोट गाउंपालिका भित्र १७ जना कटुवालहरु रहेका छन् । भुरे टाकुरे राज्य कालमा गुठी जग्गा र गाउंगावासीबाट मुठी संकलन गरी तत्कालिन स्थानिय प्रशासनले कटुवाल राख्ने प्रथाको सुरुवात गरेको थियो ।

ऐतिहांसिक धुर्कोट कोटमा  वाजा बजाउनेहरुले लगाउने पुवा पाठ र विवाह बढाईमा नगरा लागाउने संस्कृतिलाई निकै महत्वका साथ लिईन्छ । कटुवाल र नगरा लगाउने ब्यक्तिहरु सुरुमा परियार जातीका भए पनि पछि अन्य जातिका दलित समुदायले समेत गर्न थालेकाथिए ।

कोट मन्दिरमा पुजा चलाउने अङ्ग मध्येका दलितहरुलाई गुठी जग्गा वितरण गर्दा कोट मन्दिर रहेको टापु र रुखो स्थानमा र अन्य जातिका मानिसहरुलाई गैरी खेत र समथलबारी वितरण गर्दा अहिले सम्म आर्थिक असमानताको खाडल समेत यि  समुदायको फराकिलो रहेको छ ।

यसरी कोट मन्दिर छेउंछाउंमा कटुवाल लगायत दशैमा हात हतियार मर्मत सम्भार गर्ने बिश्वकर्मा जातीहरु अहिले पनि चरम गरिवीमा रहेका छन् । जिल्लाभर कटृुवालहरु झण्डै पांच सयको सख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

 एम्वुलेन्स खर्च गाउंपालिकाले दिने

त्यस्तै  धुर्कोट गाउंपालिकाकी प्रवत्ता कविता बिकका अनुसार त्यस गाउंपालिकाका  विपन्न परिवारका केहि निश्चित रोगका विरामीहरुलाई अस्पताल सम्म पुराउने एम्वुलेन्स वा अन्य गाडी खर्च उपलप्ध गराउने भएको छ ।

खर्च अभावमा अस्पताल सम्म पुराउन नसकेर कैयौ सुत्केरी र अन्य विरामी अकाल मृत्युको शिकार भई रहेको तथ्यलाई मध्ये नजर गरेर क्यान्सर मुटु रोग , ब्रेन ट्युमर जस्ता विमारले थला परेका र अस्पताल सम्म जान लैजान नसक्ने अवस्था रहेका विपन्न परिवारको मुल्याङ्कन गरी ५ हजारका दरले उपलव्ध गराउने निर्णय भएको धुर्कोट गाउंपालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै दैविक प्रकोपबाट मृत्यु भएका परिवारलाई समेत किरिया खर्च स्वरुप २५ हजारका दरले धुर्कोट गाउंपालिकाले राहत वितरण गर्ने निर्णय गरेको प्रवत्ता बिकले जानकारी दिईन् । उनका अनुसार आगो लागी वा बाढि पहिरोबाट घर क्षति भएका परिवारलाई समेत १० हजारका दरले राहत उपलव्ध गराउने भएको छ ।

घर आंसिक क्षति भएका धुर्कोटवासीले ५ हजारका दरले राहत पाउने भएका छन् । गोठ क्षति भएकाहरुले २ हजारका दरले र घाईते भएकाहरुले पनि २ हजारका दरले राहत पाउने भएका छन् । दशैभर शान्ति सुरक्षमा खटिने धुर्कोट गाउंपालिका भित्र रहेका प्रहरी चौकीलाई समेत तेत खर्च स्वरुप ५ हजारका दरले उपलव्ध गराउने निर्णय गरिएको छ । 

त्यस्तै ऐतिहांसिक धुर्कोट कोटको सराएं नचा संरक्षण व्यवस्थापनका लागि १० हजार छुटाएको प्रवत्ता बिकले बताईन् । उनका अनुृसार  धुर्कोटका अन्य मठ मन्दिरमा हुने सराएं नाच व्यवस्थापनका लागि पनि ५ हजारका दरले रकम विनियोजन गरिएको छ ।

दशै तिहारमा मदिरा नियन्त्रण गर्नका लागि सांझ ६ वजे देखि ९ वजे सम्म मात्रै विक्रि वितरण गर्न पाउने अन्यता कार्वाही गर्ने निर्णय भएको छ । धुर्कोट गाउंपालिका भित्र भुस्याह कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने कार्यक्रम पनि अगाडी सारिएको छ ।

५५ वर्ष शहिद शम्सेरबहादुरको सम्मान

प्रजातन्त्रका लागि  राज्यलाई टाउंको सुम्पेका गुल्मी धुर्कोटका शहित सम्शेरबहादुर खत्रीको सरकारी निकायबाट  झण्डै ५५ वर्ष पछि सांचो अर्थमा सम्मान भएको छ ।

२०१९ सालमा नेपाली कांग्रेसबाट प्रजातान्त्रिक आन्दोलनमा उत्रिएका धुर्कोटरजस्थल निवासी शम्शेरबहादुर खत्रीलाई तत्कालिन निरङकुस सरकारले अमरपुरमा अर्धभुमिगत भएका खत्रीलाई पक्राउन गरी उनको टाउंको काटेर प्रहरीले झुण्डाउंदै सदरमुकाम तम्घासमा ल्याएर प्रर्दशन गरेको थियो ।

उनको सांचो अर्धमा सम्मान सरकारी निकायबाट नभएको भन्दै धुर्कोट गाउंपालिकाले ५० हाजर धनाराशीको शहित सम्शेरबहादुर स्मृति पुरस्कारको स्थापना गरेर सम्मान गरेको हो । उक्त पुरस्कार हरेक वर्षको गणतन्त्र दिवसको दिन समाजका विभन्न क्षेत्रका व्यक्तिहरुलाई वितरण गरिने भएको धुर्कोट गाउंपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

 त्यस्तै २५ हजार राशीको शहिद खिमविक्रम शैक्षिक वर्ष पुरस्कार ,१५ हजार राशीको जेदुराम भण्डारी कृषि वर्ष पुरस्कार र शहिद विष्णु बस्नेत पशुपालन वर्ष पुरस्कार पनि स्थापना गरिएको छ ।

स्मरण रहोस् ५५ वर्ष अघि प्रजान्त्रिक आन्दोलनमान राज्जलाई टाउंको बुझाएका शहिद शम्शेरबहादुरका नाती  शिवबहादुर खत्रीलाई धुर्कोटवासीले स्थानिय तहको निर्वाचनमा धुर्कोटको उपप्रमुखमा विजयी बनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!