तेह्रथुममा ३५ हजार खर्च गरेर छोरोलाई फलामे खोरमा

Posted on: 25 Sep, 2017

अमृत बास्तोला। असोज ९, तेह्रथुम। एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । 

घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो । 

वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई जानुभएको थियो । दाहाललाई कक्षा ८ मा पढ्दापढ्दै कमाउन विदेश जाने हावाले छोयो । बुबाआमाले रु एक लाख ५० हजार खर्च गरेर दुवई पठाइदिनुभयो । छ महिनापछि उहाँले पहिलो कमाइ रु ७० हजार घर पठाउनुभयो । वैदेशिक रोजगारीका क्रममा दुवई पुग्नुभएका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुप¥यो । 

दसौँ महिनामा बिरामी भएको खबर आयो, काठमाडौँ ल्याएर उपचार ग¥यौँ । बुबा चूडामणि दाहालले भन्नुभयो, “छ महिनासम्म औषधि खाएपछि सन्चो भयो ।” निको भएपछि उदयनारायण पुनःभारतको मद्रास जानुभयो । दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुप¥यो । बुबाआमाले ललितपुरको मानसिक अस्पताल उपचारका गराउनुभयो । 

अस्पतालमा डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिनुभयो । आमा मैना भन्नुहुन्छ, “औषधि उपचारमा करिब रु पाँच लाख खर्च भयो । “ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्दै एक दिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुबा बेहोस भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुप¥यो ।” थप उपचारका लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिँदै बुबा चूडामणिले बताउनुभयो । 

“नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजारमा फलामको खोर अर्डर ग¥र्यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ ।” छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला र ?” उदयनारायण खोरभित्रै खानेकुरा थापेर खानुहुन्छ । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई÷चार जना लाठे खोजेर उहाँलाई बाहिर निकाल्नुपर्छ । खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उहाँ आउनुहुन्छ र कुरा गर्नुहुन्छ । सामान्य अवस्थामा आउँदा उदयनारायणले भन्नुभयो, “औषधि गर्न पाए ठीक हुन्थें होला !” उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!