मतदाता नामावली संकलन हुने

Posted on: 18 Mar, 2016

प्रकाश धौलाकोटी, चैत्र ५, तेह्रथुम । तेह्रथुममा चैत्र १६ गतेदेखि बैशाख ३ गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम सन्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले विभिन्न गाविसमा पुगेर घुम्ती शिविर सञ्चालन गरी मतदाताहरुको नयाँ नामावली दर्ता तथा अद्यावधिक गर्न लागेको हो ।

चैत १६ गतेदेखि सुरु हुने कार्यक्रमकालागि जिल्लाका पुर्वी र पश्चिमी गाविसमा छुट्टाछुट्टै टोली खटिने जनाइएको छ । गाउँमा शिविर सन्चालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले तोकेका निर्वाचन शिक्षा कार्यकर्ताहरुले घर घरमा पुगेर कार्यक्रमबारे जानकारी र अद्यावधिक गर्नुपर्ने विवरण संकलन गर्नेछन् ।

त्यसरी संकलन गरिएको तथ्यांक पछि शिविरमा खटिएका कर्मचारीले अपडेट गर्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दीपक भण्डारीले बताउनुभयो । जिल्लाका पुर्वी ईवा गाविसकालागि चैत्र १६ र १७ गते गाविसको कार्यालयमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुनेछ ।

यस्तै छातेढुंगाकालागि चैत्र १९ र २० गते, चुहानडाँडाकालागि चैत्र २२ सय २३ गते, सिम्ले गाविसकालागि २५ र २६ गते, जलजले गाविसकालागि चैत्र २८ र २९ गते र ओयाक्जुङकालागि बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सम्बन्धित गाविसमा सन्चालन हुनेछ ।

यस्तै पश्चिमी गाविसहरुतर्फ मोराहाङमा चैत्र १६ र १७ गते, सुङनाममा १९ र २० गते, बसन्तपुरमा २२ सय २३ गते, हमरजुङमा २५ र २६ गते, ओख्रेमा २८ र २९ गते र सोल्मामा बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सन्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शिविर सन्चालन हुने गाविसमा चैत्र ८ गतेदेखि २३ गतेसम्म निर्वाचन शिक्षा कार्यकर्ताहरुले नयाँ नामावली तथा सच्याउनुपर्ने भए त्यसको विवरण संकलन गर्नेछन् । सोही अनुसार शिविरमा खटिएका दर्ता कर्मचारीले तथ्यांक अपडेट गर्ने कार्यालयका कम्प्युटर अपरेटर भण्डारीले जानकारी दिनुभयो ।

हाल दुई नगरपालिका र २१ गाविस रहेको जिल्लाका विभिन्न १२ स्थानमा घुम्ती शिविर सन्चालन गरी नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुन लागेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!