रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

Posted on: 01 Oct, 2017

असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ । 

खानेपानीको निहुमा हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो । 

झडपमा हुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुमारीलाई चोट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो । 

काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभएको छ । 

यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ । 

मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुर नपा–१० बाल्चनपुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ । 

निर्वाचनको दुइहप्ता बित्न लाग्दासम्म जितहुने र हार हुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुनै निहुमा विवाद भइरहेको देखिएको छ । 

स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!