नुवाकोटका अनन्तरामले ८० घन्टा ४ मिनेट बोलेर तोडे विश्व रेकर्ड

Posted on: 08 Oct, 2017

असोज २२, नुवाकोट । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड कायम गरेका छन् । 

यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घन्टा ४ मिनेट बढी बोलेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गराएको आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

सोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मिनेटमा ८० घन्टा ४ मिनेट पार गरेको समय मूल्यार्नी संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

ओझाले भने, ‘उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लन्डनस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डको मुख्य कार्यालयमा केही समय लगत्तै पठाउँछौं । त्यसपछि यसको नतिजा आउनेछ ।’ अन्तिम मूल्यार्नीकर्ताका रूपमा करातेका राष्ट्रिय निर्णायक श्याम रोका र राजनप्रसाद दाहाल थिए । ओझा एसियन कराते महासंघका अन्तर्राष्ट्रिय निर्णायक हुन् । 


लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए । उनले ७७ वटा विषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुसालले जानकारी दिए ।

काठमाडौंको टेक्सास कलेजको कम्युनिटी हलमा आइतबार पत्रकार सम्मेलन गरेर विश्व रेकर्डबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताए ।  विश्व रेकर्ड कायम गरेपछि सचिवालय प्रमुख तेजु नेपालले भने, ‘समग्र लायन्स र विश्वमा बसेका नेपालीका लागि ऐतिहासिक गर्वको विषय हो । र, अब हामी उहाँलाई चिनाउन टिम परिचालन गरेर लागिपर्छौ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!