पहिले दलित भित्रकै बिभेदलाई हटाऊ

Posted on: 22 Mar, 2016

प्रकाश धौलाकोटी/ चैत ९, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा सोमबार ५१ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सचेतनामुलक र्याली तथा कोण सभा सम्पन्न भएको छ ।

नगरस्तरीय दलित नेटवर्कको आयोजना तथा दलित सचेतना समाज नेपालको सहयोगमा निकालिएको र्यालीले विभिन्न सचेतना मुलक र्याली र प्ले कार्ड प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो । terhathum news - sajhasabal

र्यालीमा सहभागीले दलित समुदायमाथि भइरहेको वर्षौदेखिको विभेदको अन्त्यकालागि सचेतीकरण गर्ने खालका नाराहरु उल्लेखित थिए । र्यालीपछि मुख्य चौकमा पुगेर भएको कोणसभामा बोल्दै सहभागी सरोकारवालाहरुले दलित माथिको बिभेदलाई अन्त्य गर्न सुरुमा दलित भित्रकै बिभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले दलित समुदायले जातका आधारमा हुने भेदभावको अन्त्य गर्न आफुबाटै सुरु गर्नुपर्ने बताउनुभयो । दलितको नाममा राज्यले निति निर्माण गरेर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा दलित समुदायले आफुबाटै थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले आजको एक्काइसौँ शताब्दीमा जातका आधारमा विभेद गर्नु उपयुक्त नभएको भन्दै अब जातका आधारमा विभेद नभई प्रतिष्पर्धाको भावना विकास हुनुपर्ने बताउनुभयो । राज्यले दलित समुदायलाई क्षतिपुर्तिका नाममा दिएको आरक्षणले उनीहरुको हित भन्दा बढी अहित गरेको भन्दै प्रजिअ वस्तीले स्वस्थ प्रतिष्पर्धा र क्षमतावान् मान्छेहरुलाई स्थापित गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला दलित नेटवर्कका अध्यक्ष छत्रवीर रोक्काले नितिगत रुपमा दलितहरुका मुद्धा बलियो भएपनि व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । नयाँ संविधानले दलितका मुद्धालाई केही हदसम्म स्थापित गरेकाले अब यसको कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो । अन्य समुदायको तुलनामा दलित समुदायलाई सबैभन्दा बढी संविधानको आवश्यक परेकाले पनि कार्यान्वयनकालागि दलित समुदाय नै अग्रसर हुनुपर्ने उहाँको धारणा थियो । अब दलित समुदाय र दलित अधिकारकर्मी मात्रै नभएर राज्यका सबै निकाय परिचालित हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा लालीगुराँस नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाले सामाजिक समस्याको रुपमा रहेको जातिय विभेदका कुसंस्कारी मान्यताको विरुद्धको यात्रामा आफुले सक्ने सहयोग गर्न सधँै तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका देवेन्द्र खड्का, नेकपा एमालेकी अन्जु न्यौपाने, एनेकपा माओवादीका छिरिङ लामा, बसन्त उच्च माविका प्रधानाध्यापक उद्धव नेपाली, महिला शशक्तिकरण सन्जालकी उपाध्यक्ष सरिता खड्का र ले आआफ्नो धारणा राख्नुभयो ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।

२१ सालदेखि नै छुवाछुत गर्नेलाई कारबाही गर्ने नीति बनेको थियो भने नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकिएको छ । नयाँ संविधान २०७२ र भएका नीति तथा कानुनले सामाजिक विभेदलाई बन्चित गरेको छ ।

नितिगत रुपमा दलित समुदाय निकै बलियो भएपनि व्यवहारमा अझैपनि कार्यान्वयन हुन नसकेको दलित अधिकारकर्मी कुमार बराइलीले बताउनुभयो । कार्यक्रम नगरस्तरीय दलित नेटवर्ककी अध्यक्ष गीता शिवाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय प्रशासन, नागरिक समाज, दलित समुदायका प्रतिनिधि, संघसंस्था र सन्चारकर्मी सहभागी थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!