तेह्रथुममा स्वाभिमान अभियान अन्तर्गत जागरण सभा

Posted on: 28 Mar, 2016

प्रकाश धौलाकोटी, चैत्र १५, तेह्रथुम । शान्ति, अहिंसा, राष्टिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान् भन्ने नाराकासाथ मानव अधिकार तथा शान्ति समाजले थालेको स्वाभिमान अभियान अन्तर्गत मंगलबार तेह्रथुममा पनि जागरण सभा हुने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिको आयोजना तथा जिल्ला समितिको व्यवस्थापनमा हुने सभामा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापक गोविन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो ठीक एक बजे सदरमुकाम म्याङलुङको मुख्य चौक स्थित उद्योग वाणिज्य संघको सभाहल अगाडि सभा सन्चालन हुने उहाँले बताउनुभयो । अभियान अन्तर्गत समाजले विभिन्न जिल्लाहरुमा जागरण सभा मार्फत सचेतीकरण गर्दै आएको छ ।

व्यक्ति तथा समुदायहरुको आत्मसम्मान उँचो भए राष्टको आत्मसम्मान पनि उँचो हुने तथा शान्तिको शुनिश्चितता, अहिंसाको प्रधानता, अधिकारको सृदृढता, लोकतान्त्रिक मुल्यको व्यापकता र विविधतालाई उत्सवका रुपमा ग्रहण गर्दै राष्टिय स्वाभिमान बलियो एवम् गौरवान्वित तुल्याउन स्वाभिमान आन्दोलनको थालनी भएको समेत समाजले जनाएको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरुको मन्तव्यका साथै कविता वाचनसमेत हुने कार्यक्रम व्यवस्थापक तथा जिल्ला कांग्रेस सभापति ढुंगानाले जानकारी दिनुभयो । समाजले अभियानको क्रममा हुन लागेको सभामा सहभागी बन्न राजनीतिक दल, नागरिक समाज, उद्योग, व्यापारी, शिक्षक, विद्यार्थी लगायत सबै नागरिकलाई आव्हान समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!