रिक्त कर्मचारी दरबन्दीको विज्ञापन खुलाउने प्रक्रिया शुरु

Posted on: 11 Oct, 2017

असोज २५, काठमाडौँ । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । 

‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारी पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उहाँका अनुसार आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । उपसचिवसमेत रहनुभएका सुवेदीले सहसचिवमा रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको बताउनुभयो । 

सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ । दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने भएको छ । मंसिरको दोस्रो हप्ता परीक्षा हुने भनेता पनि निर्वाचनका कारण मंसिर मसान्तमा पुगेको उपसचिव सुवेदीले बताउनुभयो । 

यस्तै अधिकृत तहका लागि पनि आगामी कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । अहिले आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दीको सङ्ख्या उपलब्ध गराउन निर्देशन दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!