प्रतिनिधि सभा र प्रदेशसभाको टिकटको प्रतिक्षामा पर्वतका नेताहरु

Posted on: 12 Oct, 2017

 

पर्वत ।  आगामी मंसिर २१ गते पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि पर्वतका क्रियाशिल राजनीतिक दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति राप्रपा लगायतका दलले केन्द्रमा उम्मेवारको सूची तयार गरेर पठाएकमा छन् । माओवादी लगायत अन्य साना दलमा सहमति भएपनि दुई शिर्ष दलमा भने सहमति हुन नसक्दा उम्मेदवारको सूची निकै लामो बनाएर केन्द्रमा सिफारीस गरेका हुन् ।

प्रतिनिधि सभाका लागि दावेदार उम्मेदवारको नाम थोरै भएपनि प्रदेशसभाका लागि भने निकै धेरै देखिएको छ । संघका लागि अलिक बढि राजनीतिमा क्रियाशिल, जिल्लाको राजनीतिबाट केन्द्रमा पुगेको, केन्द्रिय तहका नेताहरुसँग पनि हिमचिम भएको व्यक्ति हुँदा टिकट पाउन सहज हुने भएकाले संघका लागि दाबेदारहरु भने कमै रहेका छन् । 

तरपनि एक जनामा मात्र सहमति हुन नसक्दा नेपाली काँग्रेस र एमालेले पाँच÷पाँच जनाको नाम सिफारीस गरेका छन् । त्यस्तै माओवादी केन्द्रले नेत्र अधिकारी हिमाललाई मात्रै संघका लागि सिफारीस गरेको छ । अन्य साना दल राप्रपा, नयाँ शक्तिको पनि उम्मेदवारको सूची न्यून छ ।

जिल्लामा टुंगो लगाउन नसकेपछि केन्द्रमा उम्मेदवारहरुको सूची पठाएका दलका नेताहरु यतिवेला टिकटको प्रतिक्षामा रहेका छन् । संघमा र प्रदेशमा कसले टिकट पाउँला, कुन पक्षकोले टिकट पाउँछ, समानुपातीमा को को पर्लान भन्ने बहसहरु यतिवेला सर्वत्र चासोको विषय पनि बनेको छ ।

काँग्रेसबाट संघका लागि अर्जुनप्रसाद जोशीको नाम निर्विकल्प जस्तै देखिन्छ । भने प्रदेशका दुई तहमा पनि ठुलो सूची रहेकाले भागवण्डाका आधारमा कसले पाउँछ भन्ने निश्चित देखिदैन । त्यसैगरी एमालेमा पनि संघमा विकास लम्साल, गणेशशर्मा पौडेल र कल्पना चापागाईको सम्भावना छ । यी तीनमध्ये एकले टिकट पाउने निश्चित देखिन्छ । भने प्रदेशतर्फ क्षेत्र क मा मुख्य मन्त्रीको रुपमा पार्टीले सिफारीस गरेमा गणेश तिमिल्सिना उम्मेदवार बन्ने देखिएको छ ।

 उहाँलाई दुवै क्षेत्रले सर्वसम्मत उम्मेदवार सिफारीस गरेपनि मुख्य मन्त्रीको रुपमा अघि सारिएमात्र लड्ने हुनुभएको छ । अन्यथा क्षेत्र क मा पदम गिरीको निश्चित छ । भने क्षेत्र नं. २ मा १३ जनाको दाबेदारी रहेकोमा मोती पौडेल र देबेन्द्र पाण्डेमध्ये एकले टिकट पाउने भएका छन् । उनिहरु दुई जनाले नपाएमा क्षेत्रीय कमिटिबाट सिफारीसमा परेका अन्य १० जना मध्ये पहुँचका आधारमा तेस्रो व्यक्ति पनि आउन सक्ने सम्भावना रहेको सो पार्टीका नेताहरुको विश्लेषण छ ।

त्यस्तै एमाले, माओवादी र नयाँशक्ति लगायतका बामपन्थी दलहरुबीच चुनावी एकता भएपछि क्षेत्र नं. १ वा २ मा एकमध्ये प्रदेश सभाका लागि एक स्थान माओवादीले पाउने भएको छ । बाम गठवन्धनको वैठकले कुनैपनि जिल्ला निल नहुनेगरी उम्मेदवार टुंगो लगाउने तयारी गरकाले दुई प्रदेशसभाका सदस्य मध्ये एकमा माओवादी केन्द्रले टिकट पाउने भएको छ । अहिलेनै कुन क्षेत्रको कसलाई दिने भन्ने बारे यकिन नभैसकेको नेकपा एमाले पर्वतले जनाएको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दल, जनमुक्ति पार्टी लगायतले पनि उम्मेदवार टुंगो लगाएको बताएका छन् ।

एमाले लगायतका बाम दलहरु एकतावद्ध भएकाले संघ, प्रदेशका दुवै पदमा आफ्ना उम्मेदवार बिजयी हुने आँकलन उनिहरुको रहेको छ । स्थानिय तहको चुनावको परिणाम अनुसार नेपाली काँग्रेसले भन्दा एमाले र माओवादीले प्राप्त गरेको मत झण्डै ७ हजारले बढि रहेको तथ्यांकका आधारमा पनि बाम गठवन्धनका उम्मेदवार बिजयी हुने अनुमान गरिएको छ । उता नेपाली काँग्रेसबाट पर्वत क्षेत्र नं. १ मा पटक पटक बिजयी हुँदै आएका अर्जुनप्रसाद जोशीले बिजयी हासिल गर्ने दावी पनि काँग्रेस नेताहरुले गरेका छन् भने काँग्रेसकै केहि नेताहरुले टिकट वितरण र आन्तरिक कलह नमिलाए जोशीले नजित्ने पनि बताएका छन् । जोशी प्रदेशमा उठ्ने सम्भावना पनि रहेको छ ।

तीन शिर्ष दलमा काँग्रेसवाट संघ र प्रदेशका लागि सांसद अर्जुनप्रसाद जोशी, ऋषिकेश तिवारी, नबराज गुरुङ, खिम भुसाल, बसन्त सिके, दुर्गाबहादुर खत्री लगायतको चर्चा अलिक बढि देखिन्छ । भने नेकपा एमालेमा विकास लम्साल, गणेश शर्मा पौडेल, कल्पना चापागाई, गणेश तिमिल्सिना, पदम गिरी, मोती पौडेल, देवेन्द्रराज पाण्डेको चर्चा बढि रहेको छ । त्यस्तै माओवादीमा नेत्र अधिकारी, केशव कुँवर,गगन थापा, राजकाजी गुरुङ्गको चर्चा देखिएको छ । त्यस्तै राप्रपाबाट संघमा पूर्व जिविस सभापति इच्छाबहादुर गुरुङ्ग उठ्ने भएका छन् । पार्टीको वैठकले उनलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारीस गरेको हो ।

कुन स्थानमा कुन उम्मेदवार बन्छन् भन्ने प्रतिक्षाको घडि भने अब एक साताभित्रै समाप्त हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!