पर्वत प्रहरीद्धारा पाँच हजार लिटर अबैध घरेलु मदिरा नष्ट

Posted on: 12 Oct, 2017

असोज २६, पर्वत | जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

बिहीवार जिल्ला प्रहरी कार्यालयमा पाँच हजार लिटर भन्दा बढि मदिरा नष्ट गरिएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत अबैध गाँजा र मदिरा नियन्त्रण अभियानका क्रममा सदरमुकाम कुश्माबजार तथा आसपासका क्षेत्र तथा मोदी गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर, जलजला गाउँपालिका अन्तर्गत मिलनचोक, वारीबेनीबाट उक्त मदिरा बरामद गरिएको थियो ।


अबैध मदिरा उत्पादन तथा विक्रि गरेको सुचनाका आधारमा खोजतलास गर्दा उक्त मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमीरेले जानकारी दिए । स्थानीय स्तरमा उत्पादन गरिने मदिराका कारण समाजमा नकारात्मक असर पार्ने र गुणस्तरहिन मदिराको सेवनबाट जनस्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकाले मदिरा उत्पादन र विक्रि वितरण गर्ने स्थानमा कडाई गरिएको घिमिरेले जानकारी दिए ।

उहाँले अन्य स्थानहरुमा पनि मदिरा नष्ट गर्नका लागि अभियान नै संचालन गरिएको बताउनुयो । प्रहरीले यसअघि जिल्लाभरीबाट पाँच हजार भन्दा बढि गाँजाका बोट समेत फडानी गरी नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटहरुको सक्रियतामा गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!