जुम्लामा दुई दिने राष्ट्रिय सम्मेलन शुरु, मन्त्री चौधरीद्धारा उद्घाटन

Posted on: 15 Oct, 2017

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट दुई दिने हुने राष्ट्रिय सम्मेलन शुरु भएको छ । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले सम्मेलनको उद्घाटन गर्नु भएको छ । 

जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा पहिलो पटक जुम्लामा २ दिने राष्ट्रिय सम्मेलन भएको हो ।  सम्मेलनमा मन्त्री संगै विभिन्न मन्त्रालयका प्रवुद्ध व्यक्तिहरुको पनि सहभागिता रहेको छ । जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा विभिन्न निकायका प्रबुद्ध ब्यक्तिहरुद्धारा सम्बोधन गर्ने कार्य जारी छ ।


सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गार्खबहादुर थापाले बताउनुभयो ।

हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।  हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवि गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्नको लागि सम्मेलनको आयोजना भएको किर्डाक नेपालका कार्यक्रम निर्देक गोविन्द बहादुर शाहीले बताउनुभयो । किर्डाकले शिक्षा स्वास्थ्य मानव अधिकार, खानेपानी सरसफाई तथा संचार का क्षेत्रमा ५ दशक पहिला देखि नेपालभर कार्यक्रम गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!