पोखरामा हावाहुरीका कारण ७ वटा प्याराग्लाइडिङ खसे (भिडियो सहित)

Posted on: 16 Oct, 2017

असोज ३०, पोखरा | पोखराको  फेवातालमा हावाहुरीका कारण  ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।

प्याराग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो । पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए ।

‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो ।’ गुरुङले भने ।

प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।

गुरुङले अस्पताल लैजानुपर्ने घाइते कोही पनि नभएको जानकारी दिए । यद्यपी प्रहरीले चिनियाँ यात्रुलार्इ मेट्रो सिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!