सर्लाहीमा छठ पर्वको चटारो

Posted on: 16 Oct, 2017

सरोज यादव | असोज ३०, सर्लाही | सूर्य पुजाको लोकपर्व छठको लागि सर्वसाधारणहरुले आवश्यक सामग्री खरिद गर्न तथा जलाशयमा पूजा स्थलको सरसफाइ एवं सजावटमा जुटेका छन् । सर्लाहीको जनसागर पोखरी, सागर पोखरी, मुलही पोखरी, मुसैली पोखरी, झिम नदि , लखनदेहि  खोला, सिस्वाबेल्ही पोखरी, भाड्सर र खुटौनाका पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउनका लागि सर्वसाधारणहरु तयारीमा जुटेका छन् । 

पुजा स्थलहरु सुरक्षित गर्नुका साथै घाटको झकिझकाउ पार्ने काम युद्ध स्तरमा शुरु गरेका छन् । सदरमुकाम मलङ्वामा वडा - वडका विभिन्न पोखरीहरुमा विशेष सेवा सुबिधा प्रदान गरेका छन् । वडा अध्यक्षहरुले पोखरीको वरिपरि सरसफाई गराई सफा स्वछ र यसपाली लामखुट्टे विहिन बनाउने योजनामा जुटेका छन् । छठ पर्वमा गाइने गीत तथा धुनहरु सर्वत्र बजन थालेको छ । सर्लाही  सदरमुकामर मलङ्वा सहित ग्रामिण भेगका प्रत्येक चौक–चौराहा एवं घरहरुमा छठपर्वको गीतहरु बज्ने गरेको छ । जिल्लाका उतरी भेगका एफएमहरुले समेत छठ पर्वका विशेष गीतहरु बढी समयसम्म बजाउन थालेको छ ।अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै छठ पर्वको गीतहरु गुञ्जन थालिएको छ । यतिबेला जिल्लाको मलङ्वा सहित ग्रामीण बजारमा लोकभाषाका समेटिएका एल्बम, सिडी र भिसिडीको विक्री पनि बढेको छ । मैथली तथा भोजपुरी भाषामा छठ सङ्गीत गुञ्जिने गरेको छ । 

यस पर्वमा श्रद्धालुहरु सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस भन्ने कामना समेतका लागि मनाइने यो पर्व विगतको वर्षहरु देखि महँगो र भडकिलो बन्दै गएको छ । पुजा सामग्री, ढाकी, डाला,माटाका हात्ती, केराको घरी, नैवेधका रुपमा भाती–भातीका परिकार तथा फलफूलहरु समावेश गरिने यस पर्वमा तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरुले पनि श्रद्धापूर्ण रुपमा मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ । तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरग, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व नजिकिदै जाँदा छठ पर्वमा चढाइने सामग्रीहरुको मूल्य आकाशिएको छ । छठ पर्वका लागि चढाउने केरा, नरिवल, उखु, ट्याव नेमो लगायतका सामग्रीको मूल्य गत वर्षको भन्दा यस वर्ष बढेको छ । 

जिल्लाको अधिकांश ठाउँमा दुई हजार रुपियाँ सम्ममा केरा घौर (घरी) विक्री हुने गरेको व्यापारीहरु बताउँछन् । चम्पा चिनी केरा एक हजार पाँच सयमा घौर, नटबर केरा ५ देखि ७ सयमा घौर, बन्सी बोट केरा ५ देखि ६ सय रुपियाँ घौर, कुरकुटीया ४ सय रुपिया घौर, पेची ४ देखि ५ सय रुपिया घौर, हजारी २ रुपिया घौरमा विक्री हुने गरेको केरा व्यापारीहरु बताउँछन् । गत वर्षको भन्दा ३० प्रतिशत मूल्य बढेको सर्वसाधारणहरु बताउँछन् । यस्तै छठ पर्वका लागि महत्वपूर्ण फलफूल मानिने नरिवल प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्ममा विक्री भइरहेको छ । छठ पर्वका सामग्रीको मूल्य निर्धारण नहुदाँ व्यापारीहरु आफु खुशि ढंगले मूल्य बढाएर सामान बेच्ने गरेको सर्वसाधारणहरुले गुनासो पोखेका छन् ।


छठका सामग्रीमा बढेको मूल्यको कारण यस वर्षको छठ महगीमै गर्नुपर्ने सर्वसाधारणहरु बताउँछन् । ब्रतालुहरुद्वारा सूर्य देवतालाई बिहिवार साँझ अस्ताउदो र शुक्रबार  बिहानको उदाउदो सूर्यलाई अर्घ दिएपछि यस पटकको छठ पर्व सम्पन्न हुनेछ । यो पर्व परिवारिक सुख समृद्धि र मनोकामना पुर्तिका लागि गरिन्छ । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होसभन्ने कामना गर्दै पनि यो पर्व मनाइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!