म्यादी प्रहरीमा १३ सय १९ जनाले आवेदन दर्ता

Posted on: 17 Oct, 2017


पर्वत । प्रदेशसभा र प्रतिनिधिसभाको लागि आगामी मंसिरमा हुन लागेको निर्वाचनको सुरक्षाको लागि खटिने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।  पर्वतमा  म्यादी प्रहरीको लागि १३१९ जनाले आवेदन फाराम भरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फाराम भर्नेमा २७१ महिला र १०४८ पुरुष छन । निर्वाचनको सुरक्षाका लागि गृह मन्त्रालयले देशभरबाट ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको लागि बिज्ञापन खुलाएको थियो । 

दरखास्त फाराम भरेकाहरुको अन्तिम नामावली भने आउँदो कात्र्तिक १० गते सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुले प्रकाशन गर्ने छन भने उनीहरुले ५५ दिनका लागि नियुक्ति पाउने छन । म्यादी प्रहरी छनोटको क्रममा पूर्व सुरक्षाकर्मी तथा अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेकाहरुले प्राथमिकता पाउने छन ।

 म्यादी प्रहरीहरुलाई प्रहरी जवान सरहको सुबिधा सहित १७, २६० मासिक तलब, रासन खर्च ६ हजार, यातायात खर्च १ हजार, पोशाक खर्च ४ हजार, तथा निर्वाचनको ७ दिनको लागि विशेष भत्ता २५० र खाजा भत्ता २५० रुपैयाँ पाउने छन । पर्वतमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ११ सय ५० जनाले दरखास्त भरेकोमा ४ सय ३५ जना छनोट भएका थिए । 

अघिल्लो निर्वाचनमा उक्त संख्या केही कम भएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि भने ४ सय ९० जना म्यादी प्रहरी पर्वतको लागि माग गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 जिल्लामा गएको स्थानीय तहको निर्वाचनमा १ सय २९ ओटा मतदान केन्द्र रहेकोमा आउँदो निर्वाचनमा भने १ सय ३९ केन्द्र बन्न सक्ने आंकलन गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!