दोलखामा सरकारी कर्मचारीसहित ६ जुवाडे पक्राउ

Posted on: 27 Oct, 2017

ताराबहादुर महत । कार्तिक १०, दोलखा । जुवातास खेलिरहेको अवस्थामा दोलखा प्रहरीले भिमेश्वर नगरपालिकाबाट नगदसहित ६ जनालाई विहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का सुजन सुवेदी, वडा नम्बर ३ का रामकाजी लामा, भिमेश्वर–१ का रामेश्वर गिरी रहेका छन । त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर ४ का दलबहादुर खड्का, रामेछाप गेलु–४ का खिलिन्द्र खत्री र झापा गौधारा–९ का पुष्प बस्नेतलाई जुवातास खेलीरहेको अवस्थामा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पाङदोर्जे शेर्पाको घरमा पैसा हारजितको उद्धेश्यले जुवातास खेलिरहेका उनीहरुलाई प्रहरी टोलिले पक्राउ गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका सुवेदी भिमेश्वर नगरपालिकाको लेखा प्रमुख, बस्नेत गौरीशंकर गाउँपालिकाका लेखापाल र खड्का तामाकोशी–१ भिरकोटको स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारीमा रहेको बुझिएको छ । उनीहरुको साथबाट नगद १ लाख ६ हजार ६ सय पन्चानब्बे रुपैँया बरामद गरिएको र पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!