प्युठानमा ब्यबसायीको हत्यापछी त्रसित बने स्थानीय

Posted on: 29 Oct, 2017

सागर शर्मा | कात्तिक १२, प्युठान । तिहारको भाईटिकाको दिन नौबहिनी गाउँपालिका–६ बाहानेका एक व्यापारीको हत्या भएपछि सर्वसाधारण त्रसित बनेका छन् । ३५ वर्षीय बसन्त केसीको आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएका हुन् ।

‘व्यापारीको घरभित्रै भएको हत्याले हामी त्रसित बनेका छौं,’ स्थानीय व्यापारी महेश थापाले भने,‘यो घटनाले सवैमा डरत्रासको वातावरण बनाएको छ ।’ घटनापछि सिंगो बजार र गाउँका जनता दुःखी बनेको उनले बताएका हुन ।

बाहाने बजार गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ । गाउँपालिकाका स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली र लुङको बजार केन्द्र भएको थापाले बताए । ‘सामान्य झै–झगडा हुने गर्थे,’ उनले भने,‘यो घटनाले सवैलाई स्तब्ध बनायो ।’

व्यवसायीहरुको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघले घटना दुःखदपूर्ण भएको जनाएको छ । ‘घटना जघन्य र सुनियोजित छ ।’ संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने,‘घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याई कारवाही गर्नुपर्छ ।’ दोषी पत्ता लगाएर कारवाही गर्न उनले प्रहरीसँग आग्रह गरेका छन् ।

श्रीमानको हत्यामा संलग्न दोषीलाई कार्वाही गर्न मृतककी श्रीमती नारायणी केसीले माग गरेकि छिन । श्रीमानको किरिया बसेकि केसी अढाई वर्षको छोरी सहित जिल्ला प्रहरी कार्यालयमा पुगेर दोषीलाई कारवाही गर्न माग गरेकि हुन ।

उनले घटनाको निस्पक्ष छानविन गर्न समेत आग्रह गरेकि छिन । घटनाको आरोपमा पक्राउ परेका केहि व्यक्तिलाई छुटाउन राजनीतिक दल लागेको भन्दै उनले दुःख व्यक्त गरिन । ‘प्रहरी प्रशासनले दोषीलाई कारवाही गरि न्याय दिनेछ,’ उनले  भनिन,‘दोषीलाई राजनीतिक संरक्षण नहोस् ।’

केसीको हत्यासँगै दश लाख भारतीय रुपैयाँ, अढाई लाख नेपाली रुपैयाँ, दश तोला सुन र २० हजारको रिचार्ज कार्ड चोरि भएको परिवारले जनाएका छन् । मृतक केसीको १४ वर्षीया छोरी, १२ वर्षीय छोरा र अढाई वर्षीया छोरी छन् ।

घटनाको अरोपमा प्रहरीले सोही घरका छिमेकीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको आरोपमा छिमेकी १७ वर्षीय अमरजित केसी, २३ वर्षीय मन्जित केसी र ५९ वर्षीय शेर बहादुर केसीलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले बताए । 

‘भौतिक सवुत ल्यावमा परिक्षणका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाईएको छ’ उनले भने,‘पक्राउ परेकाहरुकाको बयान शुरु हुँदैछ ।’ चोरि भएको केही पैसा बरामत गरेको र थप खोजतलास जारी रहेको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताए । उहाँले कतैबाट पनि राजनीति दवाव नआएको बताए । ‘प्रहरी फ्रेस रुपमा काम गरिरहेको छ,’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!