नौ सय बढी म्यादीका लागि तिन करोड भन्दा बढी पारिश्रमिक

Posted on: 29 Oct, 2017

अजयकुमार साह/कात्तिक १२, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा व्यवस्थाका लागि छनौट गरेको नौ सय ३९ म्यादी प्रहरीका लागि तिन करोड भन्दा बढी रकम खर्च गर्ने भएको छ । 

उदयपुरमा म्यादी प्रहरी छनौट कार्य शुक्रबार सम्पन्न गरेको छ । शुक्रबार अन्तिम परिणाम सार्बजनिक भएको छ । करिब २ महिनाका लागि खटाइने म्यादी प्रहरीलाई प्रहरी जवान सरह मासिक १७ हजार २ सय ३० रुपैया पारिश्रमिक तोकिएकोछ । 

म्यादी प्रहरीको पारिश्रमिक, रासन र स्थानीय भत्ता गरी ३ करोड २३ लाख ५७ हजार नौ सय ४० रुपैया खर्च लागत रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक(एसपी) नवराज भट्टले बताए । 

निर्वाचनको क्रममा कुनै म्यादी घाइते भएमा सरकारले उचारका लागि एकलाख ५० हजार रुपैयाँसम्मको उपचारखर्च दिने जनाइएको छ । खटिने क्रममा मृत्य नै भएमा नीजको आश्रीत परिवारलाई १५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको एसपी भट्टले बताए । 

जिल्ला प्रहरी कार्यालयले उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट गरेको जनाएको छ । जस मध्ये दुई सय ५२ जना महिला रहेकाछन भने बाँकी छ सय ८७ जना पुरुष रहेकाछन् । एक सय ८७ जनाको नाम बैंकल्पिकमा प्रकाशित गरिएको जनाएको छ । म्यादी प्रहरीका लागि दुई हजार दुई सय १९ जनाले फारम भरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा म्यादी प्रहरीका लागि आवेदन गरेकाहरुलाई छनौट पक्रियामा सहभागी गराउंदै । तस्विर: अजयकुमार साह (साझा सबाल)

म्यादी प्रहरीका लागि छनौट भएकाहरुलाई यसै सातादेखि तालिम दिईने जिप्रकाले जनाइएको छ । उनीहरुलाई जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्शीलामा विभाजन गरी तालिमको व्यवस्था मिलाइने जनाइएको छ । 

म्यादीका लागि फारम भरेकालाई उचाई, तौल नाप्नुका साथै स्वस्थ्य परिक्षण, सेटअप, पसअप, रनिङ गराइएको थियो । त्यसमा पास हुनेहरुलाई लिखित र मौखिक परिक्षा लिई अन्तिम परिणाम निकालिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!