नगरपालिकामा कर्मचारी पदपूर्ति नहुँदा समस्या

Posted on: 01 Nov, 2017

सुशीला रेग्मी/कात्तिक १५, पाल्पा । कर्मचारी रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा रामपुर नगरपालिकालाई सेवा प्रवाहमा समस्या परेको छ । 

रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरपालिका कार्यालयमा धाउनुपर्ने समस्या छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले नेतृत्व गरेको चार महिना भयो । नगरपालिकामा कर्मचारीको दरबन्दी अभावले वडा कार्यालय सञ्चालन नहुँदा सेवाग्राहीले भने निकै सास्ती खेप्नुपरेको छ । 

रामपुर नगरपालिका–१० की संगीता भण्डारी काखमा बच्चा च्यापेर चार घण्टाभन्दा बढीको समय खर्चिएर नगरपालिका कार्यालयमा आउन जान उहाँलाई त्यति सजिलो छैन । एक दिनको समय बिताएर दुई छोराछोरीको जन्मदर्ताका लागि नगरपालिका कार्यालयमा आउन निकै समस्या झेल्नुपरेको छ । 

उहाँ भन्नुहुन्छ, “स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयबाट सबै काम बन्छ भन्ने सुनेकी थिएँ”– “नगरपालिकाको कार्यालय पनि टाढा रहेको हँुदा सानो कामकाजका लागि दिन बिताउनु परेको छ” भण्डारीले भन्नुभयो । हेर्दा काम सानो छ, तर आउन जानका लागि समय धेरै खर्चनुपर्ने बाध्यता छ । 

सोही ठाउँकै ७६ वर्षीय नरबहादुर गाहा पनि लौरो टेकेर झण्डै पाँच घण्टाको समय लगाएर नगरपालिका आएको बताउनुहुन्छ । “सानो कामका लागि नगरपालिकामा आउन जानै निकै झन्झट छ, वडाबाट सेवा दिएमा नागरिकलाई ठूलो राहत मिल्ने थियो”, उहाँले भन्नुभयो । 

दुर्गम र विकट क्षेत्र, कच्ची सडकका कारणले गर्दा यहाँ नियमित रुपमा यातायातका साधन चल्न निकै कठिन छ । वडा कार्यालय सञ्चालन नहुँदा अहिलेसम्म वडाका सबै कामकाज नगरपालिका कार्यालय भवनबाटै हुने गरेको छ । अर्कोतर्फ नगरपालिका भवनमा जनप्रतिनिधिलाई बस्ने व्यवस्था नहँुदा वडाका कामकाजमा निकै कठिनाइ हुने गरेको वडा नं १० का वडाध्यक्ष लिलाबहादुर गाहाले बताउनुभयो । 

दशवटा वडा रहेको रामपुर नगरपालिकामा अहिलेसम्म २ र ६ नम्बर वडाको मात्र वडा कार्यालय स्थापना भएको छ । कर्मचारीको व्यवस्था नहुँदासम्म वडावडाबाट सेवा दिन नसकिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । 

“कर्मचारीको व्यवस्थापनका लागि राज्यसँग ताकेता गरिरहेका छाँै, छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गरेर वडा कार्यालयबाट सेवा दिने तयारीमा लागेका छौँ”, प्रमुख थापाको भनाइ छ । 

नगरपालिकामा दैनिक ठूलो संख्यामा सेवाग्राहीको भीड छ । जनप्रतिनिधिलाई पनि नगरपालिका भवनमा बसेर सेवा दिन समस्या परिरहेको उनीहरु बताउँछन् । सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि नागरिकले भने स्थानीय तहको अनुभूति गर्न पाएका छैनन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!