दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान

Posted on: 06 Nov, 2017

कात्तिक २०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाको सहजीकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाको शनिबार ठूलोबगरमा भएको भेलाले विवादलाई सहमतिमा टुङ्ग्याएको हो । 

विसं २०४६/४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो । 

नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमति भएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । 

भेलामा दोवा र भुरुङ तातोपानीका वडाध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालिकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीयवासीबीच सीमा विवाद समाधानको उपायका विषयमा छलफल भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!