रसुवामा गैर सरकारी संस्थाको कार्यक्रमहरु सञ्चालनमा रोक

Posted on: 12 Nov, 2017

कात्तिक २६, रसुवा (रासस) | आगामी मंसिर १० गते प्रथम चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्नसक्ने प्रभावलाई मध्यनजर राखी जिल्लामा गैरसरकारी संस्थाका कामकाजमा शनिबारदेखि रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार निर्वाचन अवधिमा गैरसरकारी संस्थाले गरेका कार्यक्रमले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन असर पर्नसक्ने भएकाले निर्वाचन अवधिभरलाई कुनै काम नगर्न नगराउन निर्देशन दिइएको छ । 

भूकम्पपछि राहत सहयोगमा कार्यरत दर्जनौँ गैसस कार्यरत रहेका छन् । निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गराउने कार्य स्वागतयोग्य भएको मतदाताले बताएका छन् । 

संस्थाले आफ्नो कार्य नीतिअनुसार काम गरे पनि कुनै दलले हामीले पठाएका हौँ भनी मतदातासामु बाँड्न सक्ने आश्वासन बेलैमा रोक्न उक्त कदम चालिएको बताइएको छ । 

तीनसय ५६ कर्मचारी खटाइने 

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ अधिकृत, ४५ नायबसुब्बा र अन्य दर्जाका २९६ गरी कूल ३५६ कर्मचारी खटाउने तयारी पूरा भएको छ । 

रसुवामा प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कूल ३२ हजार ३२२ मतदाता रहेका सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी मतदानस्थल र मतदाता सुरक्षाका लागि आवश्यक सुरक्षा जनशक्ति तयार गरिएको प्रमुख जिल्ला अधिकारी हीरादेवि पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!