गौचनको हत्यामा संलग्न ५ जना पकाउ, हत्याको कारण खुल्यो

Posted on: 14 Nov, 2017

कात्तिक २८, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गौचनको हत्यामा संलग्न भएको अभियोगमा नुवाकोट पञ्चकन्याका राजिव स्याङताङ, पर्साका शिवजी महतो र सन्तोष गुरुङ, भारत बिहारका मुकेशकुमार पाण्डे र काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो ।  पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ ।

सुटरसहित सहयोगीहरु पक्राउ परेपनि हत्याका मुख्य योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए । बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् ।


मागजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । तर, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन । भारतबाट चोरी गरेर ल्याइएको मोटरसाइकलमा नेपाली नक्कली नम्बर प्लेट राखेर योजनाबद्ध तरिकाले गौचनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

घटनामा संलग्न समिरमानसिंह बस्नेत, मनोज पुन, बोका भनिने गंगा लिङदेन, श्यामबहादुर गुम्बे, कालेदाइ भनिने अम्बरबहादुर राना, रोशन बुढाथोकी अजय थापा र लोप्साङ नामका ब्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।

 नेपाल निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको गएको असोज २३ गते शान्तीनगरमा गोली हानी हत्या भएको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!