सर्लाहीका एक व्यापारीलाई भारतमा गोली प्रहार, गोली लागेर पनि मोटरसाइकल चलाइरहे !

Posted on: 16 Nov, 2017

कात्तिक ३०, सर्लाही | सर्लाहीका एक व्यापारीमाथि भारतीय भूमिमा गोली प्रहार भएको छ । गोली लागेर मलंगवा ९ घर भएका राकेश चौधरी घाइते भएका छन् । चौधरी कवाड व्यापारी हुन् ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गएराति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलार्इ गोली हानेको थियो ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए अनुसार नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो । तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पर्‍याइएको थियो ।

प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको प्रजिअ कटुवालले बताए ।

चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!