हुम्लामा हिमपात: चुनाव सम्पन्न गर्न हेलिकोप्टरनै चाहिने

Posted on: 17 Nov, 2017

रेशम राज रोकाया | मंसिर १, हुम्ला | हुम्लामा हिजो दिउसो १२ बजेबाट हिमपात हुँदा चुनाव सम्पन्न गर्न कठिनाई हुने देखिएको छ । चुनावलाई तोकिएको समयमा सम्पन्न गर्नको लागि जिल्ला प्रशासन कार्यलयले आज गृह मन्त्रालयलाई एक पत्र लेखी हेलीकोप्टरको माग राखेको छ । 

हुम्लाको उत्तरी गाउँपालिका नाम्खा गाउँपालिका उच्च हिमाली भेगमा परेकोले मतदान स्थल सम्म पुग्नको लागि कठिनाई हुने देखिएकोले हेलिकोप्टरको माग गरिएको प्रमूख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले बताउनु भयो ।यहाँका अनुसार मतदान प्रक्रिया सकिए पछि अधिकाँश भागबाट मतपेटिका र मतदान अधिकृत सहित जिल्लामा ल्याउने तयारी भईरहेको बताउनु भयो । जिल्लाको ७ गाउँपालिका मध्ये सिमिकोट बाहेक अन्य गाउँपालिकाको मतदान सकिएपछि मतपेटिकालाई एक ठाउँमा केन्द्रित गरी ओसार्ने तयारी भएको छ ।


किन हेलिकोप्टर नै चाहियो त ?

हिजो दिउसो असिना सहित २ घण्टा मौसम परिवर्तन भएसँगै अत्याधिक चिसोको महशुस भएको छ । आज राती १२ बजेदेखी अहिले सम्म हिमपात भईरहेको छ । हिमपातको कारण उच्च भागका स्थानमा १ फिट हिउँ जमेको छ भने सदरमुकाम सिमिकोटमा हिउँ जम्न सुरु भएको छ । बाख्लो कुहिरो सहितको हिमपात हुँदा १ सय मिटरको दुरी सम्म देख्न पनि कठिन भएको थियो । चिसोको कारण बालबालिका र वृद्धालाई घर बाहिर निस्कन कठिन भएको छ भने शिक्षण संस्थामा पठन पाठन र कार्यालयका कर्मचारीलाई काम गर्न कठिन भएको छ । काम विशेषले एक गाउँबाट अर्को गाउँ गएका वासिन्दालाई घर फर्कन कठिन भएको छ । जिल्लाका उत्तरी गाउँपालिका नाम्खामा भने बढि हिमपात भएको छ । एक्कासी सुरु भएको हिमपातले पशुचौपाय लगायत जनजीवनमा प्रभावित बनाएको थियो । अहिले पनि उच्च हिमाली भेगमा हिमपात भईरहेको छ भने बादलले आकाश घेरीरहेको हुनाले राती अझ पर्न सक्ने सम्भावना रहेको छ ।

हिमपातले चुनावलाई प्रभाव पार्न सक्ने


मंसिर १० गते प्रदेश र संघको लागि तय भएको निर्वाचन सम्पन्न गर्नको लागि हिमपातको कारण कठिन भएको छ । जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको लिमी, मुचु, यारी लगायतको मतदान स्थान सम्म मतदान टोलीमा खटिएका कर्मचारीको लागि कठिन भएको छ । लिमीको उच्च हिमाली लेकको बाटो बन्द प्राय भएका छन् । अत्याधिक चिसोको कारण र हिमपातमा अब चुनाव सम्पन्न गर्नको लागि हेलिकोप्टर प्रयोग गर्नु शिवाय कुनै विकल्प नभएको स्थानिय जानकार बताउँछन् । राम्रो मौसमक भएको बेला पनि यस अघि मतपेटिका लगायत अन्य सामाग्री ओसार्नको लागि हेलिकोप्टर प्रयोग गर्नु पर्ने अवस्था हुने सो ठाउँमा अब चुनाव के कसरी सम्पन्न गर्ने भन्नेमा चासो र चिन्ता सुरु भएको छ । उच्च ठाउँमा रहेका मतदान केन्द्रमा सामान्य अवस्था पनि खटिएका कर्मचारीलाई श्वासप्रश्वास बढ्ने समस्या हुने गरेको पाईएता पनि हाल हिमपातले यो समस्या अझ थपेको छ ।

त्यसै गरी मने लेक भन्दा पश्चिममा रहेका गाउँपालिका ताँजाकोट र अदानचुली  गाउँपालिकाका मतदान स्थल पुग्न पनि कठिन हुने देखिएको छ । मने लेक पार गर्दा दुरी कम हुने भएको भएता पनि मने लेकमा हिमपातको कारण बाटो अवरुद्ध भएको अवस्थामा ३ दिनको बाटो लम्बिने अवस्था भएको छ । हिमपातको कारण उत्तरी नाम्खाको अधिकाँश मतदान स्थल पुग्न समस्या हुने भएको कारण त्यहाँका २ हजार ५ सय ७४ जना मतदातालाई प्रभाव पार्ने देखिएको छ । चुनाव आउनको लागि जम्मा ९ दिन मात्र रहँदा बाटो अवरुद्ध हुने, बाटोमा ढुँगा खस्न सक्ने सम्भावना बढेको छ । 

हिमपातले हवाई मार्गमा अवरोध

हुम्लालाई अन्य जिल्लामा जोड्नको लागि एक मात्र सवारीको साधन हवाई जहाज हो । बाक्लो कुहिरो र हुस्सु अनि हिमपातको कारण यो सेवा पनि अवरोध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने जहाज अवरुद्ध भएका छन् । यहाँ चाहिने दैनिक उपभोग्यका सामान ढुवानी गर्नको लागि र यात्रा गर्नको लागि उडान नहुँदा अझ जनजीवन थप कस्टकर भएको छ । नागरिक उड्डयन कार्यालय सिमिकोटका अनुसार नेपालगञ्ज र सुर्खेतमा जहाज यहाँको लागि उडान गर्न तयार भएको भएता पनि मौसममा सुधार नहुँदा अहिले उडान भर्न नसकिने अवस्था छ । बिस्तारै मौसममा सुधार आउने क्रम जारी रहेको भएता पनि अपरान्हतिर मात्र हावा नबढेका उडान हुन सक्ने संकेत कार्यालयले स्रोतले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!