ऐतिहासिक मदन मेलाको तयारी अन्तिम

Posted on: 11 Apr, 2016

प्रकाश धौलाकोटी, चैत २९, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला यसवर्षपनि बैशाख १ गतेबाट सुरु हुँदैछ । मेला आयोजक समितिले मेलाको तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ ।

खेलकुद, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु सहित सन्चालन हुने मेलाकालागि अन्तिम तयारी भइरहेको मेला समितिका सचिव अनिरुद्र तिम्सीनाले बताउनुभयो । बैशाख १ गते नयाँ वर्षको आगमनसँगै सुरु भएर एक सातासम्म सन्चालन हुने मेलाको रोटेपिङ, चर्चित हाँस्य कलाकार तथा गायकहरुसहितको सांस्कृतिक कार्यक्रम आदिले थप रौनकता थप्ने बताइएको छ ।

मेलाका अवसरमा सन्चालन हुने मदन मेमोरियल पुरुष फुटबलतर्फ यसवर्ष हालसम्मकै सर्वाधिक राशी विजेताले नगद ८१ हजार र उपविजेताले ४४ हजारसहित अन्य पुरस्कार प्राप्त गर्नेभएकाले पनि मेलाको आकर्षण थपिएको मेला समितिको ठम्याई छ । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ ।

रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको छ । मेलाको अवसरमा यसवर्ष मदन मेमोरियल फुटबल, भलिबल, छेलो, खुला कविता, लोकनृत्य र धाननाच प्रतियोगिता लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु हुने छन् ।

मेलाको उद्घाटन नयाँ वर्ष प्रारम्भको दिन बैशाख १ गते विशेष समारोहसहित हुँदैछ । उद्घाटनका अवसरमा यहाँको पहिचान झल्कँने सांस्कृतिक झाँकी प्रदर्शन, मेलाको ऐतिहासिकता र वर्तमानबारे जानकारी लगायत कार्यक्रम गरी गर्ने तयारी भइरहेको मेला समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!