तेह्रथुमको सक्रान्तिबजारमा ऐतिहासिक मदन मेला सुरु

Posted on: 14 Apr, 2016

प्रकाश धौलाकोटी/बैशाख २, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्दै आएको पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला हिजोबाट सुरु भएको छ ।

मेलाको ईवा–६ निवासी वयोवृद्ध ९९ वर्षीय रत्नबहादुर बाँनियाँले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटनका अवसरमा सन्चालित सक्रान्तिबजारस्थित कर्मचारी र व्यवसायीबीचको मैत्रीपुर्ण खेलमा व्यवसायी विजयी भएका छन् । उद्घाटन कार्यक्रममा ९९ वर्षीय वृद्ध बाँनियाँलाई आयोजकले फुलमाला, अविरजात्रा र खादा ओढाई सम्मान समेत गरेको थियो । मेलामा आज बाट हालसम्मकै सर्वाधिक राशीको मदनमेमोरियल फुटबल, महिला फुटबल र भलिबल लगायत खेलकुद कार्यक्रमहरु सुरु हुने मेला समितिका अध्यक्ष कुलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

एक सातासम्म चल्ने मेलाको दोस्रो दिन आज विहान ८ बजेबाट विभिन्न खेलकुदका कार्यक्रम सन्चालन हुने उहाँले बताउनुभयो । यसवर्ष पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५, महिला फुटबलतर्फ ६ र भलिबलमा ४ वटा टिम सहभागी भएका छन् । मेलामा आयोजित फुटबलका विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!