म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

Posted on: 01 Dec, 2017

मङ्सिर १५, म्याग्दी । जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् । 

२०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७।८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका यहाँस्थित दूरसञ्चार कार्यालयले जनाएको छ । 

उक्त कार्यालयको गत आर्थिक वर्ष २०७३÷७४ को विवरणअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् । जिल्लामा हाल प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका प्रयोगकर्ता १५ हजार २६३ जना छन् । 

यसैगरी पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको कार्यालय प्रमुख विष्णुदेव शाहले बताउनुभयो । ल्याण्डलाइन टेलिफोन सेवातर्फ सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको जानकारी दिँदै उहाँले धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् भन्नुभयो । 

त्यस्तै एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक छन् । भिस्याट टेलिफोनका भने जिल्लाभरि २६ जना ग्राहक रहेको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो । म्याग्दी जिल्लाको विभिन्न ठाउँमा गरी कूल ३१ ओटा बिटिएस सञ्चालनमा रहेकामा मोबाइल २३, सिडिएमए पाँच र वाइम्याक्सको चारवटा टावर सञ्चालन गरिएको छ । 

सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको पाँच र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएकामा अन्नपूर्ण गाउँपालिकामा ६, रघुगंगामा दुई, मंगलामा तीन, मालिकामा दुई र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बिटिएस सञ्चालनमा रहेको प्रमुख शाहले बताउनुभयो । 

सिडिएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाइम्याक्स सेवाका लागि नगरपालिकासहित मालिका र अन्नपूर्णमा बिटिएस जडान गरिएको छ 

यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको छ । चालु वर्षमा उक्त कार्यालयले बिटिएस स्थापना गर्न विभिन्न आठ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ ।भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसङ्ख््या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी छ । 

जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ता रहेका छन् भने एउटै व्यक्तिले चार–पाँचवटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ता बढ्दै गएको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!