पर्वतको निर्वाचन - मतदान स्थलमा पुग्दै कर्मचारी (भिडियाे सहित)

Posted on: 04 Dec, 2017

महेन्द्र केसी
मंसिर १८ पर्वत । आगमी विहिबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् । मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् ।

चुनावका लागि पर्वतमा एक हजार एक सय १२ कर्मचारी नियुक्ति भएका छ्न् । त्यसैगरी ५ सय ६४ जना स्वयमसेवक खटाइएको छ ।
सदरमुकामबाट एक दिन लाग्ने विहादी, पैयूँ, महाशिला गाउँपालिकाका लागि कर्मचारीहरु विहानै चुनाव सामाग्री बुझेर प्रस्थान गरेका छन् भने अन्य क्षेत्रमा खटिएका कर्मचारी पनि सामाग्री बुझेर आआफ्नो क्षेत्रमा प्रस्तान गरिसकेका छन् । सदरमुकाम देखि नजिकका क्षेत्रहरुमा कर्मचारीहरु पुगिसकेका छन् भने आफ्नो कामहरु शुरु गर्न थालेका छन् ।

प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता छन् । दुइ नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदान स्थल र एकसय ३९ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेशसभा (क) मा ६, प्रदेशसभा (ख) मा ८ र प्रतिनिधिमा १४ जना गरी कुल २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाको शान्ति सुरक्षाको लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिने भएको छ । निर्वाचनको अबधिमा १९ मोबाइल टोली परिचालन हुनेछन् । नेपाल प्रहरी र म्यादी प्रहरी गरी १२०८, शसस्त्र २०८, सात सेमु नेपाली सेना २३१, राष्ट्रिय अनुसाधन आयोगका १० र नेपाल प्रहरीको १४ सिनियर र जुनियर टोली परिचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!