यसरी बन्यो बझाङको उरै भञ्जाङ नाका तस्करहरुको स्वर्ग

Posted on: 06 Dec, 2017

मङ्सिर २०, बझाङ । धेरै वर्ष देखी बझाङको उरै भञ्जाङ नाका भएर अवैध रुपमा तिब्बत जाने कुनै पनि सामान प्रहरीले पक्राउ गरेको सार्वजनिक भएको छैन । 

 धेरैलाई लाग्न सक्छ यो बाटो प्रयोग गरेर हुने वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमुल्य जडिबुटीको अवैध कारोबार बन्द भैसकेको होला . यथार्थ धेरै फरक छ ।  अहिले झन खुलेयाम रुपमा यस्तो कारोबार यहा भैरहेको छ । 

नेपालको सिमा सुरक्षा चौकी रहेको काडा गाविसको धुली गाउबाट झण्डै ३ किलो मिटर टाढा रहेको नेपाल चिनको सिमा वरीपरि ठाउ ठाउमा अस्थायी टहरा नै खडा गरेर तस्करहरुले खुलेयाम यस्ता सामानहरु ओसारी रहेको दृष्यले त्यहा पुग्ने जो कोहीलाई अचम्ममा पार्न सक्छ ।

खुला हिमाली पाटनमा टनका टन प्रतिबन्धित जडिबुटीहरु सुकाएको, अस्थायी टहराहरुमा बोराका बोरा जडिबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडिबुटी र अन्य प्रतिबन्धित सामानहरु लिएर दिउसै निर्धक्क हिडिरहेका खच्चर, भेडा, भरिया र हतियार सहित खुलेयाम घुमिरहेका तस्करीमा संलग्न व्यक्तीको ताती देख्ने जो सुकै एक पटक जिब्रो टोकेर भन्न बाध्य हुन्छ ।ओहो  यो त साञ्चै तस्करको स्वर्गै रहेछ ।

प्रतिबन्धित जडिबुटीको खुलेयाम व्यापार

अहिले काडाँ गांउपालिका हुदै तिब्बत जाने बाटोमा पर्ने  चौरहरुमा  खुलेयाम रुपमा सुकाइएको जटामसी र कटुकी लगायतका जडिबुटी ठुलो परिमाणमा सहजै देख्न सकिन्छ । बझाङ तथा हुम्लाका व्यापारीले बझाङका र दार्चुलाको विभिन्न गाउबाट मानिसहरुलाई ज्यालामा लगाएर संकलन गरिएको उक्त जडिबुटीको परिमाण २ सय क्विन्टल भन्दा बढी भएको काडाका मंगल बोहराले बताए ।

उनले भने ‘यो सबै तिब्बत लैजानका लागी ठिक पारिएको हो’ 

नेपाल चिनको सिमा स्तम्भ रहेको उरै भञ्जाङबाट करिब ३१ मिनेट ओरालो झरे पछि लहरै पाल टागिएका भेटिन्छन . बाहिरबाट हेर्दा अस्थायी होटल जस्ता लाग्ने पाल भित्र पसेर हेर्दा सयौ बोरामा राखीएका कटुकीका खात हुन्छन ।

पाल कुवाको काम गरिरहेका आफ्नो नाम बताउन नचाहाने हुम्लाका  युवकहरुले केही आफरुहरु कटुकी तिब्बत ढुवानी गर्ने जिम्मा लिएर त्यहा बसेको बताए .  उनिहरुले २१ वटा खच्चर भाडामा लिएको र  कटुकी ढुवानी गर्न एक हप्ता जति लाग्ने र ढुवानी सके पछि पाल हटाएर आफरुहरु पनि ताक्लाकोट जाने बताए असोजको अन्त सम्म सम्म झण्डै ! सय ५१ क्विन्टल जती कटुकी तिब्बत पुर्याइ सकेको र ६०/७० क्विन्टल ढुवानीको क्रममा रहेको उनले बताए . 

अहिले बझाङको कांडा गांउपालिका देखी चिनको ताक्लाकोट सम्म जाने बाटोमा ओहोरदोहोर गर्नेहरु प्रसस्त भेटिन्छ । जानेहरु रातो च्याउ लगायतका प्रतिबन्धित जडिबुटी बोकेर हिडिरहेका हुन्छन भने फर्किनेहरु लक्ता कपडा जुत्ता मदिरा ल्याएर फर्किन्छन।

यि सामान्य उदाहरण उदाहरण मात्र हुन यस अघि श्रावण, भदौ र असोज महिनामा यो बाटो भएर सयौं क्विन्टल सतुवा, वनलसुन, पाचऔले लगायतका विभिन्न जडिबुटीहरु तिब्बत पुगिसकेको तिब्बती सिमा सुरक्षा पोष्ट नजिक होटल गरेर बसेका हुम्लाका बहादुर लामाले बताए । उनले भने ‘यसमा अचम्म मान्नु पर्ने कारण नै छैन । यो वर्ष त धेरै कम मात्र जडिबुटी आएको हो । अघिल्ला वर्षहरुमा देखेको भए के गर्नु हुन्थ्यो’ माथि उल्लेख भएका सबै जडिबुटीहरु अघिल्ला वर्षहरुमा यसको दोब्बर तेब्बर परिमाणमा आउने गरेको वताउदै उनले भने ‘साल सालै यत्रो मात्रामा जडिबुटी ल्याउछन . माटोको फल न हो कती टिक्छ र अव सकिन लाग्यो होला त्यही भएर यो वर्ष पहिला भन्दा धेरै कम आएको छ’।

अव्यवस्थित संकलन भएकाका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषदले बझाङमा २ वर्षको लागी सतुवा, कटुकी, वनलसुनको  संकलनमा रोक लगाएको छ । पाँचऔले विश्व मै लोपोन्मुख प्रजातीमा रहेकोले यसको संकलनमा नेपाल सरकारले नै प्रतिबन्ध लगाएको छ भने रातो च्याउ ओसार पसारको लागी के व्यवस्था गर्र्र्ने भन्ने प्रस्ताव मन्त्रीपरिषदमा विचाराधिन रहेको बझाङका जिल्ला वन कार्यालय बझाङले जानकारी दिएको छ ।

उत्तरी नाका भएर निकासी भैरहेको जडिबुटीको बारेमा जिल्ला वनलाई कुनै जानकारी नभएको र माथि उल्लेख भएका कुनै पनि जडिबुटीको जिल्ला वनले संकलन र छोडपुर्जी समेत कसैलाई नदिएको जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठको भनाई छ । 

२०६८ साल चैत्रमा बझाङ प्रहरीले चिनको तिब्बत तर्फ लैजादै गरेको अवस्थामा रिठापाटाको बारिल भन्ने ठाउबाट करिब ३५ क्विन्टल रक्त चन्दन ८६ जना भरिया सहित पक्राउ गर्यो । सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा  सय ५० भन्दा बढी भरिया लगायर करिव ५० क्विन्टल रक्त चन्दन तिब्बत पुराइएको कुरा सार्वजनिक भएको थियो ।

बझाङका भरियाहरुबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा बझाङको प्रहरी प्रशाशनको पनि मिलेमतो रहेको आसंकाहरु गरिएको थियो । . 

त्यस यता यस नाका भएर तिब्बत पुग्ने रक्त चन्दन पक्राउ परेको छैन । तर प्रत्येक वर्ष रक्त चन्दन यस नाका भएर तिब्बत आउने गरेको यहाका स्थानिय र यो बाटोमा होटल व्यवसाय गर्नेहरु बताउछन ।

 ‘यो वाटो भएर रक्त चन्दन आउन थालेको ६÷७ वर्ष जति भयो’ तिब्बतको लप, भन्ने ठाउमा ११ वर्ष देखी होटल व्यवसाय गरि वसेका हुम्लाका एक जनाले भने ‘पहिला पहिला बाघका छाला, कस्तुरी जस्ता सामान बढी आउथ्यो आजकाल बढी रक्तचन्दन आउछ’ गत वर्ष मात्र बाजुरा साप्पाटा गाविसका १ सय २३ जना भरिया प्रयोग गरेर झण्डै ३७ क्विन्टल जती रक्त चन्दन तिब्बत गएको आफ्नै आखाले देखेको उनले बताए ।

प्राय बाटोका सबै होटलहरु उठिसके पछि दशै र तिहारको आसपास र चैत्रको अन्त्य तिर रक्त चन्दनको ओसार पसार बढी हुने गरेको उनको भनाइ छ ।. तातोपानी नाका बन्द भए पछि रसुवा र अन्य नाकामा हुने कडाइका कारण तस्करहरुले नाका फेरेर बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन ।

तिब्बतको भुमिमा पुर्याइ सके पछि यहा यसको खला व्यापार हुने भएको र बझाङको नाकामा सुरक्षा व्यवस्था नभएका कारण यो नाका भएर रक्तचन्दन सप्लाई गर्न सजिलो भएकाले तस्करहरुले धेरै जसो यो नाका प्रयोग गर्ने गरेको नेपाल चिन उद्योग व्यापार संघ अन्र्तगतको कैलास व्यापार संघका सचिव जगत तामाङ बताउछन ।

बाघको छालामा कडाइ, कस्तुरीको विना महंगियो 

केही वर्ष पहिले निर्वाध रुपमा बाघको छाला हातमै बोकेर मोलमोलाई गर्न सकिने ताक्लाकोट प्रशाशनले अन्तराष्ट्रिय दवाबका कारण बाघको छाला खरिद विक्रीमा प्रतिबन्ध लगाए पछि २ वर्ष यता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोवार घटेको जानकारहरु बताउछन । 

 गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताको रुपमा रहेको एक जनालाई तिब्बत प्रशाशनले पक्राउ गरे पछि यसको कारोबारमा निक्कै कमी आएको कैलास व्यापार संघका सचिव जगत तामाङले बताए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो । एक वर्ष जति भयो त्यस्तो खालको मान्छे ताक्लामा भेटिएको छैन’ उनले भने ‘पहिला जस्तो छैन, गर्नेले त भित्र भित्र गरेकै होला’।

बाघको छाला र हड्डीको कारोबार घटे संगै कस्तुरीको विनाको मुल्य भने गत वर्ष भन्दा निकै बढेको बताइन्छ । ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजार सम्म किनबेच भएको कस्तुरीको विना यो वर्ष ५५ देखी ६५ हजार सम्म कारोबार भएको ताक्लाकोटमा २ वटा कस्तुरीको विना बेचेर फर्किएको बझाङ काडाका एक जनाले नाम नबताउने सर्तमा जानकारी दिए । 

आफुले ५ वटा विना बझाङको साविक दातोला र ४ वटा सुर्मा र दौलिचौर गाविसका शिकारीबाट खरिद गरेको वताउने उनले २ वटा काडाको शिकारीबाट प्रतितोला २५ देखी ३० हजारमा खरीद गरेको बताए ।

कस्तुरीको व्यापार गर्ने बझाङ र हुम्लाका गरी ५/७ जना व्यापारी रहेको र उनिहरुले यो वर्ष बझाङबाट मात्र ५० वटा जति कस्तुरीको विना संकलन गरेर तिब्बत पुर्याएको उनको भनाई छ ।

नियन्त्रण गर्न विषेश व्यवस्था आवश्यक 

बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनु पर्ने र सिमा सुरक्षाको लागी विषेश खालको सुविधा सहित ससस्त्र प्रहरीलाई खटाइनु पर्ने भनेर बझाङ जिल्ला परिषदले पटक पटक निर्णय गरेर केन्द्रमा पठाएको र यसको सनुवाई नहुदा उरै नाका तस्करका लागी सहज वन्दै गएको बझाङका अधिकारीहरु बताउछन . 

भन्सार कार्यालय र प्रहरीको उपस्थिती राम्रो भएमा जिल्ला वनले पनि आफ्नो पोष्ट खडा गर्ने र प्रहरी प्रशाशन संग मिलेर तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठ वताउछन । 

‘बर्षेनी ठुलो मात्रामा बन्यजन्तुका अंग र जडिबुटी जान्छ भन्ने त हामी पनि सुन्छौ’ उनले भने ‘हामी संगको जनशक्ती र सिमा सुरक्षा चौकीमा अहिले भएका प्रहरी कै भरमा यो नियन्त्रण गर्न सम्भव छैन सिमामा सरकारको उपस्थिती शुन्य हुदा बर्षेनी करोडौं राजश्व समेत गुमिरहेको वताउदै उनले भने ‘प्रहरीको उपस्थिती बाक्लो बनाउने सुराकी परिचालन गर्ने र सरकारका अन्य निकायको पनि उपस्थिती हुने हो भने नियन्त्रण गर्न पनि गाह्रो छैन’।

जडिबुटी र बन्यजन्तुका अखेटोपहारको तस्करी यो नाकाबाट भैरहेको बारेमा आफ’ले जानकारी पाए पनि रक्त चन्दन तस्करीको विषय थाहा नभएको प्रहरी नायब निरिक्षक क्रृषिराम कडेलले बताए ।

अहिलेको सिमा सुरक्षा चौकी रहेको ठाउ धुलीबाट सिमा सम्म पुग्नै ३ दिन लाग्ने र तस्करीको सुचना पाए पनि प्रहरी पुग्दा सम्म तस्कर भागिसक्ने भएकोले सिमामा हुने गैर कानुनी गतिबीधी रोक्नका लागी सिमा नजिकै प्रहरीको उपस्थिती हुने खालको व्यवस्था हुनु पर्ने प्रहरी नायव उपरिक्षक क्रृषिराम कडेलको भनाई छ ।

उनले भने ‘हिमाली भुभाग भएको कारण अहिलेकै सुविधामा त्यहा कोही पनि वस्न सक्ने अवस्था हुदैन । विषेश सुविधा सहित बाह्रै महिना सिमामा प्रहरी रहने खालको व्यवस्था सरकारले गरेमा गैर कानुनी गतिबीधी रोक्न असम्भव छैन’ यसको नियन्त्रणको लागी जिल्लामा रहेको संयन्त्रले मात्र पहल गरेर नहुने र केन्द्र स्तरबाट चासो देखाउनु पर्ने उनको भनाइ छ । टेकेन्द्र बोहराको सहयोगमा 


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!