मदन मेमोरियल फुटबल प्रतियोगिताको फाइनलमा खाम्लालुङ सेतो र चम्किलो भिड्ने

Posted on: 17 Apr, 2016

प्रकाश धौलाकोटी/ बैशाख ५, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा र खाम्लालुङ गाविस सेतो भिड्ने भएका छन् ।

आइतबार भएको खेलमा प्रगतिशील तमु युवा समुह ह्वाकुलाई ट्राईबेकरमा पराजित गर्दै चम्किलोले आफ्नो फाइनल यात्रा तय गरेको हो । यस्तै मदन मेला आयोजक समितिलाई २–१ गोल अन्तरले पराजित गर्दै खाम्लालुङ गाविस सेतो फाइनलमा उत्रिएको मेला आयोजक समितिका महेन्द्र बिमलीले जानकारी दिनुभयो । यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्ग र जाँते मोरङ फाइनलमा उत्रिएका छन् । सोमबार दुवैतर्फको उपाधिकालागि फाइनल खेल हुने र पुरस्कार वितरण लगायत कार्यक्रमसँगै मेला सम्पन्न हुने आयोजकले जनाएको छ । पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ टिम सहभागी भएकोमा विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला फुटबलतर्फ विभिन्न ६ टिम सहभागी भएकोमा विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने मेला आयोजक समितिका विमलीले बताउनुभयो । पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!