चम्किलोले चुम्यो उपाधि

Posted on: 19 Apr, 2016

Footballप्रकाश धौलाकोटी । तेह्रथुम, ७ बैशाख । तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा तेह्रथुमले हाते पारेको छ ।

सोमबार सक्रान्तिबजारस्थित त्रिमोहन उच्च माविको खेलमैदानमा भएको फाइनल खेलमा खाम्लालुङ गाविस सेतोलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै चम्किलोले उपाधि चुमेको हो । उपाधिसँगै प्रतियोगिताको यो संस्करणको विजेता बनेको चम्किलो तारा युवा क्लबले नगद ८१ हजार, ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । हारसँगै उपविजेता बनेको खाम्लालुङले नगद ४४ हजार, कप मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।

यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्गले उपाधि हाते पारेको छ । फाइलनमा जाँते मोरङलाई हराउँदै लेकसाइट प्रतियोगिताको विजेता बनेको हो । उसले नगद ३१ हजार, कप मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता बनेको मोरङले नगद १८ हजारमा चित्त बुझायो ।

पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ र महिला फुटबलतर्फ ६ टिम सहभागी थिए । पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!