पाल्पामा एचआइभी संक्रमित समाजमा खुल्दै

Posted on: 16 Dec, 2017

पुस १, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् । 

सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुलाई बढाउँदै छन् । 

जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये हाल ४१ जना बिरामी समाजमा खुलैर हिँड्ने गरेका छन् । एचआइभी संक्रमित बिरामीमध्ये ८७ प्रतिशतले नियमित एआरटी सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको एक मात्र मिसन अस्पतालबाट संक्रमित बिरामीका लागि निःशुल्करुपमा एआरटी सेवा प्रदान गरिँदै आएको छ । 

अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा बिस्तारै खुल्न थालेको उहाँले बताउनुभयो । 

जिल्लाका एचआइभी संक्रमित अहिले प्रतिबद्ध सहयोग समूह गठन गरेर गाउँगाउँमा जनचेतना फैलाउँदै आइरहेको समूहकी अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । उहाँ एचआइभी संक्रमित भएको अहिले २२ वर्ष भइसक्यो । नियमित औषधि सेवन गरेका कारण अरुसरह नै समाजमा जीवन जिउँदै आएको कुँवरको भनाइ छ । 

“एचआइभी संक्रमित आफूमा छ भनेर आत्तिहाल्नु पर्दैन, नियमित औषधि सेवन गरियो भने लामो समयसम्म अन्य व्यक्तिसरह नै बाँच्न सकिन्छ”– उहाँले भन्नुभयो । उहाँ आफू पनि समाजमा खुल्नुभयो र अरु संक्रमित बिरामीलाई पनि समाजको संकुचित घेराबाट बाहिर ल्याउने प्रयत्नमा जुट्नुभएको छ । 

व्यक्तिलाई राम्रो र नराम्रो दर्जा दिने भनेको हाम्रो अन्धविश्वास र रुढीवादी समाज हो । अन्धविश्वास र रुढीवादी समाजको घेराबाट बाहिरी संसारमा खुलेआम निस्किएर सबैसँग हातेमालो र सहकार्य गरेर एचआइभी संक्रमितलाई अगाडि बढ्न जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ठूलो सघाउ पु¥याएको छ । एचआइभी संक्रमितलाई दीर्घ जीवन बाँँच्न हातेमालो गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको कार्यालयले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!