बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

Posted on: 21 Dec, 2017

पुस ६, पाल्पा । पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ । 

जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ । 

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार स्वयंसेविकामार्फत बालभिटा निःशुल्क रुपमा उपलब्ध गराइँदै आइरहेको छ । बालभिटाको प्रयोगबाट जिल्लामा अहिले कुपोषित बालबालिकाको संख्या ५२० बाट २२४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । 

यस्तै, जिल्लामा श्वासप्रश्वासका समस्या भएका बालबालिकाको दर पनि घट्दो रहेको छ । आव २०७३÷०७४ मा प्रतिहजारमा ३०८.१, २०७२÷०७३ मा ७१४ र ०७१÷०७२ मा ८०४ रहेको छ । जिल्लाभरिको तथ्यांक हेर्दा बालभिटाको प्रयोग गर्ने बालबालिकाको दर भने ५४.२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक प्रवीण भण्डारीले बताउनुभयो । 

ग्रामीण भेगमा अझै पनि आफ्ना बालबालिकालाई बालभिटाको प्रयोग नगर्ने अभिभावक धेरै रहेका छन् । केहीले पूरै अवधिसम्म नियमित खुवाएको पाइन्छ भने केहीले घर लगेर प्रयोग नगर्ने गरेको खुलासा भएको छ । 

पन्ध्र किसिमका सुक्ष्म पोषक तत्वबाट बनेको हुँदा पनि यसको नियमित सेवनले बच्चाको तौल वृद्धिमा सहयोग पुग्नुका साथै बच्चा फुर्तिलो र टाठो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसका साथसाथै बालभिटा प्रयोगले कुपोषण र श्वासप्रश्वाससम्बन्धी समस्याबाट बालबालिका सधैँ टाढा रहने गर्छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!