बाग्लुङकि ५५ वर्षीया जौमायाको जीविका फोहोर उठाएरै चल्छ

Posted on: 21 Dec, 2017

पुस ६, बागलुङ  । तमानखोला गाउँपालिका–१ की ५५ वर्षीया जौमाया विकको जीविका फोहोर उठाएरै चलेको छ । 

विकले चार वर्षदेखि बोङ्गादोभान बजारमा संकलित फोहोर उठाएर विसर्जन गरी आम्दानी गर्दैआउनुभएको छ । पति प्रेमलाल विकको निधनपछि परिवारको खर्च धान्न जौमायाले सो काम गर्न थाल्नुभएको हो । घरधनी र व्यवसायीले उहाँलाई मासिक रु ५० का दरले पारिश्रमिक दिने गरेका छन् । 

जौमायाका १३ वर्षीय छोरा जितबहादुर र १२ वर्षीय अनिल अर्काको घरमा बसेर काम गर्छन् । “घरमा एक्लै छु, बिहान–बेलुकाको छाक टार्न धौ धौ छ”, विकले भन्नुभयो, “लालनपालन र पढाउन नसकेपछि छोराछोरी पनि अन्तै काम गर्न गएका छन् ।” 

विकको दुःख देखेर बोङ्दोभान बजारमा रहेको आमा समूहले बेला–बेला सघाउने गरेको छ । आमा समूहकै प्रयासमा फोहोर व्यवस्थापनको काम अघि बढेपछि संकलित फोहोरलाई उठाएर विर्सजन गर्न विकलाई सजिलो भएको छ । विकले फोहोर राख्ने ‘बास्केट’ र अन्यत्र संकलित फोहोरलाई डोकोमा उठाएर तमानखोलाको किनारमा लगेर जलाउने गर्नुभएको छ । 

दुई/तीन दिन बिराएर विकले बजारको फोहोर उठाउने गरेको स्थानीयवासी सूर्य सिर्पालीले बताउनुभयो । व्यवसायीले मासिक दिने रकम बढाएर रु एक सय पु¥याउने सोच बनाएको बताउनुभयो । 

स्थानीय महिलाले पनि विकको पारिश्रमिक बढाउनुपर्नेमा जोड दिएका छन् । “दुःख, विमार हुँदा त केही उपाय छैन, अहिले छाक टार्न यो रकमले पुगेकै छ”, विकले भन्नुभयो । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!