बोक्सीको आरोपमा महिलामाथि कुटपिट, टाउकोमा गम्भीर चोट

Posted on: 25 Dec, 2017

पुस १०, रौतहट। राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा जैतुन नेसाको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ ।

घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए ।

उनका अनुसार कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेका थिए ।

श्रीमतीलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले जानकारी दिए । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पीडित पक्ष अहिलेसम्म उजुरी दिन नआए पनि सन्चारमाध्यममा आएको समाचारका आधारमा पीडकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिने बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!