व्यवहारिक शिक्षाको अभ्यास गर्दै सुर्खेतको जनज्योती उच्च मावि

Posted on: 28 Dec, 2017

पुस १३, सुर्खेत । राम्रो शिक्षालयमा पढ्न पाइयोस्, पढेको कुरा तत्कालै व्यवहारमा लागू गर्न सकियोस् । अनि, पढ्दापढ्दै दाम पनि कमाउन पाइयोस् । अथवा, प्रमाणपत्र थपिँदै जाँदा धन पनि बढ्दै जाओस् । 

यस्तो भए कस्तो हुन्थ्यो होला ? यस्तो हुन असम्भव लाग्यो ? अहँ, असम्भव छैन, सम्भव छ । यो स्वादिष्ट कल्पना यथार्थमा बदलिएको हेर्न सुर्खेत जानुपर्छ । त्यहाँको बराहताल गाउँपालिकाको जनज्योती उच्च माविले यस्तै चमत्कार गरिरहेछ ।

जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् । किन ? किनकी जनज्योतीले पढाउँछ नै, त्यसबाहेक विद्यार्थीलाई उद्यमी पनि बनाउँछ । यसका लागि विशेष तरिका अपनाउँछ ।

जनज्योतीमा १८ महिने कृषि जेटियो र भेट्नेरी जेटियो पढाई हुन्छ । भर्ना हुने हरेक विद्यार्थीसँग पाँच हजार रुपैयाँ धरौटी लिइन्छ । त्यही रकम विद्यार्थीलाई ऋण दिइन्छ अनि खेति गर्न लगाइन्छ । 

ऋणको व्याज समेत तिर्न पर्दैन । गाईभैंसी, बाख्रा, बंगुर, कुखुरा, माछा पाल्न लगाइन्छ । एकातिर पढाई चल्दै गर्छ, अर्कातिर विद्यार्थीले व्यवहारिक ज्ञान लिँदै जान्छन् । अहिले जनज्योतीमा पढ्ने विद्यार्थीहरु मालामाल भएका छन् । अधिकांशले पढाई खर्च घरबाट ल्याउन पर्दैन, खेतिबाटै कमाउँछन् । कतिले त कमाएर घर पनि पठाउँछन् । 


जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् । खासमा जनज्योतीको जग्गा दुई बिगाहा मात्र हो । प्रधानाध्यापक नारायण सिग्देलले खेति गर्दै पढ्ने अवधारणा ल्याएपछि विद्यालयले २३ विगाहा जग्गा भाडामा लिएको छ । भाडा तिर्ने चिन्ता छैन, बरु, विद्यालयले ठूलो रकम आम्दानी गरिरहेछ ।

विद्यालयले माहुरी पनि पालेको छ । मह बेचेरै लाखौं रुपैयाँ आम्दानी गरिरहेछ । च्याउ खेति गरेर पनि उत्ति नै आम्दानी गरिरहेछ । माछापोखरीको आम्दानी पनि गज्जब छ । 

यो गज्जबको आम्दानीको परिणाम हो, जनज्योतीले कक्षा आठसम्म निःशुल्क पढाउँछ । आगामी दिनमा १२ कक्षासम्मै निःशुल्क पढाउने योजना रहेको नारायणप्रसाद बताउँछन् । विद्यालयलाई २५ विगाहा जग्गा अपूग भएको छ । 

त्यसैले सबै विद्यार्थीले मनग्ये आम्दानी गर्न पाएनन् । त्यसपछि त विद्यार्थीहरु आफैले गाउँमा जग्गा भाडामा लिँदै खेति गर्न थाले । विद्यार्थीलाई जग्गा खोजि दिने काम पनि नारायणप्रसादले नै गरिदिन्छन् ।

यो चमत्कारी विद्यालयमा पढ्न देशभरीबाट विद्यार्थी आउन थालेका छन् तर सिट संख्या थोरै छ । कृषितर्फ अहिले तीनसय २० जना पढिरहेछन् । विद्यालयमा कूल एक हजार ५८ विद्यार्थी छन् । 

शिक्षक र कर्मचारी ५२ जना छन् । न शिक्षक र कर्मचारीलाई तलब दिन समस्या छ, न विद्यार्थीलाई शुल्क तिर्न र निर्वाह गर्न समस्या छ । सम्पूर्ण रुपमा आत्मनिर्भर छ विद्यालय । त्यति मात्र होइन, लाखौं रुपैयाँ कमाइरहेको पनि छ । अनि, विद्यार्थीलाई पनि कमाउँदै पढ्ने मौका दिइरहेको छ ।

जनज्योतीका विद्यार्थीहरु किताबी ज्ञान मात्र लिँदैनन्, त्यो ज्ञानलाई व्यवहारिक रुपमै प्रयोग गर्छन् । पढाई सकिँदा उनीहरु व्यावसायिक किसान, पशुपालक बनिसकेका हुन्छन् । अधिकांश विद्यार्थी भन्छन्, हामी जागिर खाँदैनौं, जागिर दिने बन्छौं ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!