बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

Posted on: 29 Dec, 2017

पुस १४, बैतडी । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । 

मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो । 

पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ उहाँले भन्नुभयो “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ ।” 

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थनर्स ममता जोशीले बताउनुभयो । उहाँले भन्नुभयो “मातृदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ” 

मोबाइल कार्यक्रमले सहज 

बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको स्वास्थ्यकर्र्मीले बताएका छन् । 

एक महिना अघिदेखि शुरु भएको पाटन नगरपालिकामा रहेका गभर्वती महिलाको गर्भ जाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज आउने भएकाले सजिलो भएको हो । 

यसका लागि नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल बितरण गरेपछि यो कार्यमा सहज भएको पाटन नगरपालिकाका स्वास्थ्य ईन्चार्ज मदन महराले बताउनुभयो । 

उहाँले भन्नुभयो “नगरपालिकाभित्र रहेका १० वटै वडाका १०९ महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा जाँच गर्न लैजान लागि झनै सहज भएको छ” स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा १०० को रिचार्ज पनि स्वास्थ्यचौकीले नै उपलब्ध गर्ने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!