वीरेन्द्रनगरलाई ‘छोरीमैत्री’ बनाउने अभियान

Posted on: 29 Dec, 2017

पुस १४, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर र गुर्भाकोट नगरपालिकाको छोरी जन्मिए निःशुल्क बैंक खाता खोलिदिने निर्णय कार्यान्वयनमा आएको छ । उक्त निर्णय गरेको सात महिनाको अवधिमा वीरेन्द्रनगर नगरपालिकाका ३३ जनाले बैंक खाता खोलेका छन् । खातामा नगरपालिकाले एक हजार रुपैयाँ जम्मा गरिदिएको छ ।

यसले छोरीलाई सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न प्रोत्साहन पुग्ने नगरपालिकाको दाबी छ । छोरीमाथि गर्भदेखि नै विभेद भइरहेकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्न लागेको नगरपालिकाले जनाएको छ । ‘भ्रुण हत्याको कारण छोरीको जन्मदरमा कमी आएपछि सामाजिक संरचना नै खल्बलिने अवस्था आयो’ वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, ‘यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्दैछौं ।’ विकास भनेको भौतिक निर्माण मात्र नभएर सामाजिक रुपान्तरण पनि भएको सुवेदीले बताए ।

छोरी भएकै कारण भ्रुणमै हत्या गर्नेमाथि कारबाही हुने उनले दाबी गरे । उनले भने, ‘छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउँदैनन् ।’ उपमेयर मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा छोरीका लागि सम्मानपूर्ण वातावरण सिर्जना हुने दाबी गरिन् । पाँच वर्षभित्र भ्रुण हत्यालाई पूर्णरूपमा बन्द गर्ने योजना रहेको ढकालले बताइन् ।

त्यसैगरी गुर्भाकोट नगरपालिकाले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको छ । पुस पहिलो हप्ता सम्पन्न गुर्भाकोट नगर कार्यपालिकाको बैठकले नगरभित्रका अनाथ बालवालिकालाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । अनाथ बालवालिकाको शिक्षालाई मध्यनजर गरेर यस्तो निर्णय गरेको उपमेयर मैना बिकले बताइन् । ‘यसको लागि नगरभित्र रहेका अनाथ बालवालिकाको तथ्याङ्क संकलन गर्दैछौं’ उनले भनिन्, ‘तथ्याङ्क संकलनपछि कार्यान्वयनतर्फ लाग्नेछौं ।’

त्यसैगरी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम, बालविवाह न्यूनीकरणको लागि किशोरकिशोरी भेटघाट तथा ७० वर्ष माथिका जेष्ठ नागरिक भेटघाट कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । त्यस्तै पाठेघर क्यान्सर पीडित महिला तथा किशोरीहरुका लागि पनि विभिन्न योजनाहरु अघि बढाएको उपमेयर बिकले बताइन् । सुर्खेतमा पाँच नगरपालिका र चार वटा गाउँपालिका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!