निजी लगानीमा विद्यालयको भवन निर्माण

Posted on: 22 Apr, 2016

प्रकाश धौलाकोटी/बैशाख १०, तेह्रथुम । तेह्रथुमको पौठाक स्थित जनप्रिय उच्च माविलाई स्थानीय एक समाजसेवीले २० लाख रुपैयाँ लागतको चार कोठे पक्की भवन निर्माण गरिदिनुभएको छ ।

बिद्यालयलाई भवन अभाव हुँदा समस्या हुन थालेपछि पौठाक–६, सिरीङ्गबारी निवासी गोकर्ण चोङ्गवाङले आफ्नो निजी लगानीमा ४ कोठे भवन निर्माण गरिदिनुभएको हो । भवनको शुक्रबार सभासद भवानीप्रसाद खापुङले विद्यालयको ५७ औँ वार्षिक उत्सवका अवसरमा हस्तान्तरण तथा समुद्घाटन गर्नुभएको छ ।

बिद्यालयलाई निजी लगानीमा भवन निर्माण गरिदिनुभएका चोङ्गवाङले विद्यालयको वार्षिक उत्सवका अवसरमा आफ्नी स्वर्गीय माता सीता चाङ्गवाङको स्मृतिमा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । अक्षयकोषको व्याजबाट विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने विद्यालयका प्रद्यानाध्यापक डेनुप्रसाद गौतमले जानकारी दिनुभयो ।

सांसद भवानीप्रसाद खापुङ्गको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सवको समापन कार्यक्रममा विद्यायलका प्रद्यानाध्यापक गौतमले ६३ लाख वराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुली , राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरुले विद्यालयको सैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमान पंधाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!