सिन्धुपाल्चोकमा प्रहरीद्वारा ४६ फरार अभियुक्त पक्राउ

Posted on: 01 Jan, 2018

पुस १७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

चालु आर्थिक वर्ष ०७४/०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय मेलम्चीले १८, इप्रका बाह्रबिसेले पाँच र इप्रका जलबिरे, नवलपुर तथा जिल्ला प्रहरी कार्यालय गरी जम्मा ४६ जना पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । 

गत आव ०७३/०७४ मा जिल्लाभरिबाट जम्मा २५ जना फरार अभियुक्त पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा १६ वर्षदेखि फरार रहेका मेलम्ची नगरपालिका– १२ का गोकुल भट्टराईसहित चालु आवमा जिल्लाकै सबैभन्दा बढी १८ जना फरार अभियुक्त पक्राउ गरिएको छ । 

अदातलबाट फैसला हुन बाँकी तथा विभिन्न अपराधमा संलग्न रहेका दर्जनौँलाई प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । नागरिकता, राहदानी तथा सरकारी छाप कीर्ते मुद्दामा १० वर्षदेखि फरार मेलम्चीका कुमार पाण्डे तथा नागरिकता मुद्दाका अर्का फरार अभियुक्त मेलम्चीका वाङदोर्जे लामालाई समेत मेलम्ची प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

मेलम्चीका स्थानीय शेरबहादुर माझीले प्रहरीको सक्रियताले फरार अभियुक्त पक्राउ पर्नुका साथै प्रहरीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउनसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

सिन्धुपाल्चोकमा मानव बेचबिखन, बहुबिवाह, सवारी ज्यान, कीर्ते नागरिकता तथा सार्वजनिक अपराधका कार्यमा बढी संलग्नता हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!