सल्यानमा गुड्यो अटो रिक्सा, यात्रुलाई सहज

Posted on: 02 Jan, 2018

खकेन्द्र केसी/पुस १८, सल्यान । यात्रुहरुको समस्यालाई ध्यानमा राखी सल्यानमा अटो रिक्सा संचालनमा आएको छ ।

सुरु सुरुमा तराईको समथर भु-भागमा गुड्ने अटो रिक्सा पहाडी जिल्ला सल्यानमा पनि संचालनमा आएको हो । चुनावको समयमा प्रचार प्रसारमा प्रयोग गर्नको लागी तराईबाट पहाडी जिल्ला सल्यानमा माग भएपछि सल्यान बनगाढ नगरपालीका ११ रैखोरका लोक बहादुर विकले अटो रिक्सा सल्यान ल्याएका हुन । चुनावको समयमा अटोले राम्रै बजार लिएपछि उनले हिजो आइतबार देखि सल्यानमा नियमित संचालन गरेका छन् ।

यात्रुलाई सहज र शुर्लभ तरीकाले छिटो र छरीतो यात्रा गराउने पेट्रोलबाट चल्ने साधन अटो रिक्सा सल्यानको जुनसुकै पक्की तथा कच्ची सडकमा चल्ने रिक्सा चालक लोक बहादुर विकले बताए । गाडी कतिखेर आउछ भनेर कुर्नुपर्ने, कुर्दा पनि गाडि नआउदा हिड्नु पर्ने यात्रुलाई अटो रिक्साले सहज बनाएको छ ।


रिक्सा संचालक विकले भने “२ बर्ष अघिदेखि मैले नेपालगञ्जमा रिक्सा संचालन गरेको हु, सुरु सुरुमा दैनिक ५ हजार सम्म कमाइन्थ्यो तर पछि नेपालगञ्जमा धेरै रिक्सा भएपछि कमाई घट्दै गयो । अब त्यसको विकल्प सल्यानमा देखिएको छ ।’’ सल्यानको सबै भु-भागमा अटो रिक्सा गुड्न सक्ने भएकाले यात्रुलाई सहज हुनेगरी ३० देखि ४० ओटा सम्म अटो चल्न सक्ने रिक्सा चालक विकले बताए ।

अटो रिक्सा सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलंगा-बालुवा संग्राही हुदै सल्लीबजार र सुखेत सम्म गुड्न सक्ने उनले बताए । त्यसैगरी श्रीनगरबाट राप्ती राजमार्ग अन्तरगत उत्तर तिर बागचौर हुदै बाङगेलाखुरी र दक्षिण तिर लुहाम हुदै कपुरकोट तर्फ गुड्न सक्ने क्षमता अटो रिक्सामा रहेको चालक विकले बताएका छन् । त्यस्तै जिल्लाको सहायक राजमार्गमा पनि अटो गुड्न सक्ने उनले बताएका छन् ।

अर्कोतर्फ आफ्नो ब्यवसायी सँगै यात्रुहरुलाई सेवा दिन खोज्दा बिचमा अवरोध पुर्याउन खोज्नेहरुले दुख दिएको समेत उनले दुखेसो गरेका छन् । सडकमा रिक्सा गुडाउदा ट्राफिक प्रहरीले जिक ज्याक गरेर आफ्नो मनबोल घटाउने, अन्य गाडी संचालकहरुले यात्रु राख्यो भन्दै अबरोध पुर्याउन खोज्ने गरेको उनले दुखेसो गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!