हलेसी अग्नि पिडित सहयोगार्थ काठमाण्डौमा राहत संकलन समिति गठन

Posted on: 04 Jan, 2018

चिसाङ शेर्पा/पुस २०, खोटाङ । हलेसी अग्नि पिडितका लागि राजधानी काठमाण्डौमा दिनेश राईको संयोकत्वमा ७ सदस्य ‘अग्नि पिडित राहत संकलन समिति’ गठन गरिएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मंगलबार साँझ भएको आगलागी पिडित सहयोगार्थ उक्त समिति गठन भएको हो । बुधबार राजधानीस्थित भृकुटीमण्डप ‘ल’ क्याम्पसमा गठित समितिको सहसंयोजकमा जनक दाहाल, सचिव राजु बिक्रम राई, सदस्य भुपेन्द्र राई, सईन्द्र राई, उमेश राई र सुविन्द्र गिरी रहेका छन् । समितिले सोही दिनदेखी ब्यक्तिगत, संस्थागत तथा सामुहिक सहयोग संकलन शुरु गरेका छन् । 

संकलित सहयोग रकमलाई समितिको छुट्टै खाता खोलेर जम्मा गरिने र एकमुष्ट अग्नि पिडितलाई सहयोग रकम हस्तान्तरण गरिने हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेस निकट खोटाङ काठमाण्डौ सम्पर्क समितिले बुधबारै आकस्मिक बैठक बसेर तत्कालल अग्नि पिडितका लागि सहयोग संकलन गर्ने निर्णय पारित गरेको छ । 

नगरपालिकामा अग्नि नियन्त्रक दमकल खरिदका लागि सम्बन्धित निकायमा पहल तथा काठमाण्डौवासी सरोकारवालासँग नगरपालिकाकी उपप्रमुख राई काठमाण्डौमा लागि परेका छन् । 

गत मंगलबार खाना पकाउने ग्याँस पड्कीएर हलेसी बजारमा आगलागी हुंदा ५ करोड ११ लाख १५ हजारको क्षति भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!