हलेसी आगलागी पिडितलाई गुम्बा र लोक नेपालको सहयोग

Posted on: 05 Jan, 2018

चिसाङ शेर्पा/पुस २१, खोटाङ । लोक नेपाल नामक संस्थाले खोटाङको हलेसीका आगलागी पिडितलाई ओढ्ने र लगाउने कपडा पठाइदिएको छ । 

मंगलबार राती भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितलाई लोक नेपालले ७८ हजार ९०० मूल्य बराबरको फाइबर सिरक, टिसर्ट, मिनिकोट, ट्राउजर पठाइदिएको हो ।


लोक नेपालका अध्यक्ष धनबहादुर राई र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार राईले अग्नी पिडितले पाउनेगरी शुक्रबार काठ्माण्डौंमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईलाई फाइबरका १६ थान सिरक, ३९ थान टिसर्ट, १९ थान मिनिकोट र बच्चाका लागि २५ थान ट्राउजर प्रदान गरेको छ । बिस्थापित भएपछि टहरामा कष्टकर दिन बिताइरहेका पिडितको सहज जीवनयापनका लागि ओढ्ने र लगाउने कपडा प्रदान गरिएको लोक नेपालले जनाएको छ 

यसैविच, आगलागी पिडितलाई मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बाकातर्फबाट राहत वितरण गरिएको छ । बौद्धमार्गीले पाँच पिडितलाई जनही ५ हजारका साथमा ५० केजी चामल बाँडेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभो । 

मगमको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । यसअघि, बिस्थापित परिवारलाई जिल्ला दैबीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग बाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, हलेसी तुवाचुङ नगरपालिका लगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेको छ । अग्नी पिडित परिवार शेरगण मुढे व्यारेकका नेपाली सेना र शसस्त्र प्रहरी बल हलेसी गुल्मका शसस्त्र प्रहरीका जवानले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!