जनजागृति अन्तिम चारमा

Posted on: 24 Apr, 2016

प्रकाश धौलाकोटी/ बैशाख १२, तेह्रथुम । लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु भएको दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा संखुवासभा फुटबल संघलाई पराजित गर्दै जनजागृति फुटबल क्लब हिले धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ । sports news of terhathum - sajha sabal

बसन्तपुरस्थित मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले संखुवासभालाई पाखा लगाउँदै हिले धनकुटाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । वर्षा र हावाहुरीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए । दोश्रो हाफको २३ औँ मिनेटमा संखुवासभाका जर्सी नं. ७ का खेलाडी दीपक चौहानले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । तर दोश्रो हाफको इन्जुरी समयमा जनजागृति हिले धनकुटाका जर्सी नं. १० का खेलाडी सन्जय रम्तेलले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याउनुभएको थियो । थप समयमा पनि दुवै टिमबाट गोल हुनसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटाका किपर फुपुछिरिङ शेर्पा म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत आइतबार आज म्याङलुङ नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि काठमाडौँबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा आयोजित गोल्ड कप फुटबलले पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि महत्वपुर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन थालेको हो । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!