खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ

Posted on: 06 Jan, 2018

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । 

यौन दुव्र्यबहार आरोपमा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका खेमराज वन पक्राउ परेका हुन् । 

राईमाथि शुक्रबार युवतीमाथि जवरजस्ती गरेको अभियोग लागेको छ । युवतीको मौखिक उजुरीका आधारमा शुक्रबार नै पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइदैगरेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए । 

‘सहमतीमै सम्पर्क भएको भन्ने आएको छ,’ प्रनाउ थापाले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ सुरुमा बलात्कार आरोप लगाएका युवतीले पछिल्लो समय बयान फेरेको प्रहरीले बताएको छ । युवतीको आफन्तले आपत्तीजनक अवस्थामा देखेपछि घट्ना बाहिरिएको श्रोतले बताएको छ । 

यस्तै, २९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वन पक्राउ परेका हुन् । पुस १७ गते राती कोठामा सुतिरहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका वनलाई आईतबार सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको छ । वनले बलात्कार प्रयास गरेपछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएकी थिइन् । 

वन पक्राउ परेपछि पीडित पक्षसमेत सदरमुकाम दिक्तेल आइसकेका छन् । उनीहरुले दिएको उजुरीको आधारमा मुद्दा दर्ता गरेर कारबाही थालिने डिएसपी थापाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!