सप्तरीमा एक बालकसहित दुईजना मृत भेटिए

Posted on: 06 Jan, 2018

पुस २२, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा एक बालकसहित दुईजना मृत अवस्थामा फेला परेका छन् । 

सप्तकोशी नगरपालिका–८ स्थित कमलपुरमा एकजना पुरुष आज मृत फेला परेका छन् । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष सो ठाउँमा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 

यस्तै, जिल्लाको डाकनेश्वरी नगरपालिका–५ स्थित पश्चिम नहरको छेउमा छ महिने बालक मृत अवस्थामा फेला परेको इप्रका, पातोले जनाएको छ । उक्त बालकको हालसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । ती पुरुषको के कारणले कसरी मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीद्वारा दाउरा वितरण 

यसैबीच, तराईमा चिसो बढेपछि आगो ताप्नका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा एकाइले सर्वसाधारणलाई दाउरा वितरण गरेको आज जनाएको छ । 

सप्तरीको पातोस्थित सशस्त्र प्रहरी बल चेकपोष्टले स्थानीयवासीलाई सहयोग पु¥याउने हेतुले २०० क्विन्टल दाउरा वितरण गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

जिल्लाको डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा उक्त दाउरा वितरण गरेको बताइएको छ । 

सो नगरपालिकाका विभिन्न स्थानमा २०० क्विन्टल दाउरा वितरण गरिएको हो । 

तराईमा विगत चार÷पाँच दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सशस्त्र प्रहरीले दाउरा वितरण शुरु गरेको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!